३३ किलो सुन प्रकरण: यूएईबाट सुन पठाउने हरिशरण खड्का पक्राउ

काठमाडौं । ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा युएई प्रहरीले हरिशरण खड्कालाई पक्राउ गरेको छ ।प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दुबई बसेर नेपालमा सुन पठाउने गरेको अनुशन्धानमा देखिएपछि खड्का विरुद्ध इन्टरपोल मार्फत पक्राउ नोटिस जारी भएसँगै उनी पक्राउ परेका हुन्। उनी पक्राउ परेको अनौपचारिक सूचना प्राप्त भएपनि औपचारिक रुपमा पुष्टि हुन बाँकी रहेको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए।

काभ्रे घर भएका ४० वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दूबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।

पछिल्ला वर्षहरुमा मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरिसकेको छ ।

प्रकरणमा रेड नोटिस जारी भएका मध्ये रमेश उप्रेती र बेनु श्रेष्ठ यूएईमै पक्राउ परिसकेका छन् भने मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल र मोहमद उस्ताम मियाँ अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search