आईसीसीले पठायो नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले २१ नेपाली क्रिकेटरको दुई बर्ष देखि रोकिएको तलब पठाएको छ ।नेपाल क्रिकेट संघ क्यान निलम्बनमा रहेको अवस्थामा रोकिएको खेलाडीको तलब आईसीसीले राष्ट्रिय खेलकुद परिषद राखेपको खातामा पठाएको हो ।‘राखेपको पटक पटकको पत्राचार पछाडी आईसीसीले खेलाडीको रोकिएको तलब पठाएको छ ।’ राखेप सदस्य सचिव केशवकुमार विष्टले भने । राखेपले क्रिकेट खेलाडीसंग श्रेणीगत आधारमा सम्झौता गर्दै आईसीसीलाई नाम पठाएको थियो ।

सम्झौता अनुसार ए श्रेणीको खेलाडीले ३५ हजार, बी श्रेणीको खेलाडीले २५ हजार र सी श्रेणीको खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सम्झौता अनुसार आईसीसीले दुई बर्षबाट रोकिएको १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ खेलाडीको तलब राखेपलाई पठाएको छ ।

निलम्बन अगाडीले क्यानले खेलाडीलाई तीन श्रेणीमा विभाजन गरेर मासिक तलब दिन सुरु गरेको थियो । क्यान निलम्बनमा परेपछि राष्ट्रिय क्रिकेट टिमका खेलाडी बिना तलब अन्तराष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन् ।

‘ए’ श्रेणीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् । यस्तै ‘बी’श्रेणीमा शक्ति गौचन, ललित भण्डारी, अनिलकुमार शाह, करण केसी, आरिफ शेख, रोहित पौडेल, ललितनारायण राजवंशी छन् ।

‘सी’ श्रेणीमा बिनोद भण्डारी, सुवास खकुरेल, सागर पुन, सुसन भारी, दिलिप नाथ, किशोर महतो, सुनिल धमला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search