धनगढी प्रिमियर लिगको उद्घाटन, खेल सोमबारदेखि

धनगढी । धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको उद्घाटन गरिएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमिले शनिबार धनगढीमा एक कार्यक्रम गर्दै डिपिएलको-३ उद्घाटन गरेको हो।सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहका बीच लिगको तेस्रो संस्करणको उद्घाटन गरे । बर्षाका कारण प्रतियोगिता उद्घाटन भएपनि खेलहरु भने सोमबारदेखि मात्रै सुरु हुने भएका छन् । लगातारको बर्षाले फाप्ला मैदान हिलाम्मे भएपछि खेल दुई दिन सारिएको हो । दुई दिन खेल सारेसँगै नयाँ खेल तालिका पनि निकालिएको छ । सोमबारदेखि दैनिक दुई वटा खेल हुनेछन । पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन्। यस्तो दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन्।

डीपीएलको पुरस्कार राशीमा यस पटक वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु १५ हजार,म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । यस्तै आयोजकले दर्शकहरुका लागि टिकट दर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० तोकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
X
Type to search