आइसीसीले पठाएको तलव म स्वीकार गर्न सक्दिँन-प्रशिक्षक जगत टमाटा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपाली क्रिकेट खेलाडीको दुई बर्षको तलव पठाएलगतै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले असन्तुष्टी जनाएका छन् । शनिवार आइसीसीले खेलाडी र प्रशिक्षकका लागि दुई बर्षको तलव पठाएको थियो । जसमा ग बर्षका खेलाडी सरह राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटालाई तलव पठाइएको छ ।

आफुलाई पठाइएको तलवमा उनले असन्तुष्टी मात्र जनाएका छैनन, अस्वीकार गर्ने प्रतिक्रिया समेत दिएका छन् । तीन वर्षअघि नेपाल क्रिकेट संघ क्यान र प्रशिक्षक टमाटाबीच तलबबारे सम्झौता हुन लागेका बेला क्यान विघटन भएको थियो । मासिक ५० देखि ७० हजार रुपैयाँमा सम्झौता हुन लागेकै बेला क्यान भङ्ग भएको थियो तर अहिले मासिक १५ हजारका दरले तलव पठाइएछ, त्यो म स्वीकार गर्न सक्दिँन, टमाटाले भने ।

खेलाडीबाहेक क्यानका व्यवस्थापक तथा प्राविधिक विश्लेषक र प्रशिक्षकको तलव मासिक १५ हजारका दरले दुई वर्षको तलब पठाएको छ । राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित ८ खेलाडीलाई मासिक ३५ हजारका दरले रकम पठाएको छ । क वर्गमा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी रहेका छन् । क, ख र ग गरी तीन श्रेणीमा राष्ट्रिय खेलाडीहरूलाई वर्गीकरण गरिएको छ। प्रत्येक समूहमा सात सात गरी २१ खेलाडीहरूले तलब पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
X
Type to search