साफ च्याम्पियनसिपमा भारतद्वारा माल्दिभ्स ६ गोलले पराजित

विराटनगर । महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको छ । विराटनगरको सहिद रंगशालामा भएको समूह बीको पहिलो खेलमा भारतले एकतर्फ जित निकालेको हो ।

खेलको सुरुवातबाटै आक्रमक देखिएको भारतले आठौं मिनेटमा अग्रता बनाएको थियो । माल्दिभ्सका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई भारतकी ग्रेस डाङमीले गोलकिपरलाई बिट गर्दै गोल गरेकी थिईन् ।

१३ औं मिनेटमा भारतले अग्रता दोब्बर बनायो । मिडफिल्डर ग्रेसको पासलाई सदुपयोग गर्दै फरवार्ड सन्धिया रङ्गनाथले गोल गरेकी थिईन् । २२ औं मिनेटमा ईन्दुमती काथिरसेनले तेस्रो गोल गरिन् । उनको कडा प्रहार गोलकिपरले रोक्न सकिनन् ।

२७ औं मिनेटमा सञ्जुले डिबक्सभित्रबाट प्रहार गरेको बलमा गोलकिपर मुखदर्शक रहिन् । उनले प्रहार गरेको बलले सिधै पोस्टको जाली चुमेको थियो । पहिलो हाफको ईन्जुरी समयमा रतनबाला देवीले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएपछि पहिलो हाफमै भारत ५–० ले अगाडी बढेको थियो ।

दोस्रो हाफमा माल्दिभ्सविरुद्व निरन्तर दबाब बनाएको भारतले गोलका लागि अन्तिम समयसम्म पर्खन पर्यो । ९० औं मिनेटमा सन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ६–० को जित दिलाईन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search