लियोनल मेस्सीको जादु, बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम आठमा

काठमाण्डौ । कप्तान लियोनल मेस्सीको जादुमयी खेलसंगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको अन्तिम १६ को दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब लियोनलाई ५–१ गोल अन्तरले हराएको हो ।

गएराति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई तथा फिलिप काउटिन्हो, जेरार्ड पिके र ओसामाने डेम्बेलेले एक एक गोलको योगदान गरेका थिए । लियोनकालागि लुकास टुसार्टले सान्त्वना गोल फर्काएका थिए । बार्सिलोनामा समग्रमा ५–१ को नतिजा सहित अन्तिम ८ मा प्रवेश गरेको हो । पहिलो लेगको खेल गोल रहित बराबरीमा सकिएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा बार्सिलोनाले मेस्सीको पेनाल्टी गोल मार्फत अग्रता लिएको थियो । उनले १७ औ मिनेटमा घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । काउटिन्होले ३१ औ मिनेटमा बार्साको अग्रता दोब्बर बनाए । टुसार्टले ५८ औ मिनेटमा गोल गर्दै लियोनलाई खेलमा फर्काउने कोशिश नगरेका होईनन् ।

तर बार्साले त्यसपछि लगातार तीन गोल थप्यो । मेस्सीले ७८ औ मिनेटमा बार्सालाई ३–१ को स्थितीमा पु¥याएका थिए । पीकेले ८१ औ मिनेटमा बार्सिलोनाका लागि चौथो गोल गरे । खेल सकिन ४ मिनेट अगाडी डेम्बेलेले क्लबका लागि पाँचौ गोल गरेका थिए । बार्सिलोना लगातार १२ औ पटक च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र शुक्रबार सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search