निर्मला हत्या प्रकरण: ६ जना प्रहरीलाई धरौटीमा छोड्न आदेश

कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले दुई प्रहरीलाई दुई मुद्दामा र अन्यलाई एक मुद्दामा धरौटी माग्ने आदेश गरेको छ। डिएसपी ज्ञान बहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्कालाई जनही ९ लाख धरौटी माग्ने आदेश गरेको हो।

उनीहरूसँग यातनामा ५/५ लाख र सार्वजनिक न्यायमा ४/४ लाख धरौटी माग्ने आदेश अदालतले गरेको छ। इन्सपेक्टर जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामी ३ लाख ५० हजार, रामसिंह धामी ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो।

जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीकाअनुसार उनीहरूले धरौटी बुझाएमा रिहा हुनेछन् भने नबुझाएमा थुनामा रहनेछन्। मुलुकी ऐनको नयाँ व्यवस्थाअनुसार ६ जना प्रहरीहरुलाई फागुन २३ गते जिल्ला अदालत उपस्थित गराइएको थियो। एसपी दिल्लीराज विष्ट र डिएसपी अगुंर जिसी भने अदालतमा उपस्थित भएका थिएनन्।

उनीहरुलाई २१ दिनभित्र अदालत उपस्थित हुन म्याद थप गरिएको छ भने प्रहरीले फरारको सूचीमा पनि राखेको छ। अदालतमा उपस्थित भई बयान दिनेमा डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, इन्स्पेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन्।

निर्मला हत्या प्रकरणमा अनुसन्धानको क्रममा अभियुक्तलाई यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै २ वटा छुट्टाछुट्टै मुद्दा गत पुस ३ गते दर्ता भएको थियो। निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा २ वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो।

सोही घटनाको बयानका लागि कञ्चनपुर अदालतले बोलाएपछि प्रहरीलाई अदालतमा उपस्थित गराइएको थियो। उक्त घटनामा चरम लापरबाही गरेको भन्दै सरकारले एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाट हटाएको थियो।

अन्य प्रहरी भने निलम्बनमा परेका थिए। त्यसपछि उनीहरुले मन्त्रिपरिषद्‍मा पुनर्वाहलीको माग गर्दै निवेदन दिएका थिए। उक्त निवेदनउपर अहिलेसम्म कुनै कामकारबाही भएको छैन।

 

प्रतिक्रिया दिनुहोस्
X
Type to search