किन रोकियो धार्के सितापाइला सडक निर्माणको काम स्थानीयको जनप्रतिनिधिलाई प्रश्न ?

काठमाण्डौ । नागढुङ्गामा लामो समय ट्राफिक जाममा बस्नु पर्ने त दैनिकको दिन चर्या नै हो । सरकार जनतालाई सुविधा दिने कुरा गरेर थाक्दैन तर,योजना बनाउने क्षेत्रमा राजनीतिकरण हुन्छ र कतिपय विकासका काममा अंकुश लाग्ने गर्छ । नीतिगत अस्पष्टताका कारणको झमेलामा परेको छ धार्के भीमढुङगा सितापाइला र भिमढुङ्गा लामिडाँडा गल्छि सडक ।

हुनत देश नयाँ शासकीय प्रणालीमा चल्दै गर्दा बढेको अन्यौलता भित्र कतिपय आयोजनाहरु परेका छन् । राष्ट्रिय महत्व बोकेको सडक जस्ले राजधानी भित्रिने ट्राफिक जामलाई निवारण गर्ने सामथ्र्थ राख्छ सितापाइला भीमढुङ्गा धार्के सडक । दैनिक हजारौ सवारी साधन नागढुङ्गा नाका भएर बाहिरिने र उपत्यका भित्रिने गर्छन । घण्टौको जाममा बस्नु पर्ने बाध्यतालाई राज्यले मसिनो ढंगले सोचिदिने हो भने त्यो समस्या सदाका लागि दूर हुने छ । नागरिकले राज्यसंग गुहार मागिरहेका छन् धार्के भीमढुङ्गा सितापाइला सडक चाडै निर्माण सम्पन्न गर अनि ट्राफिक जामको रोगबाट छुटकारा देउ ।

हुनत भीमढुंङ्गा–लामिडाँडा सडक र सितापाईला धार्के सडक निर्माणको विषयमा स्थानीयले आफ्ना जनप्रतिनिधि मार्फत सरकारको ध्यानाकर्षण गर्ने प्रयत्न गरिरहेका छन् । प्रदेशसभा ३ का सदस्य राजेन्द्र पाण्डेसंग बिहीबार स्थानीय नगरिकले छलफल गरेका छन । सडकको दुरावस्थाकै कारण दिनप्रतिदिन स्थानीयले समस्या भोग्दै आएका कारण छिटोभन्दा छिटो सडक स्तरउन्नती गरेर समस्या समाधान गर्न भनेका छन् । बहुबर्षीय ठेक्कामा गएका दुवै सडक नयाँ नीति अनुसार प्रदेश सरकार अन्र्तगत हस्तान्तरण भएको थियो । प्रदेश सरकार अन्तरगत दुवै सडक गएपछि झनै अन्यौलता बढेको छ । सडक निर्माणका लागि आर्थिक बर्ष २०७३–७४ मा अर्थ मन्त्रालयबाट सितापाईला–धार्के सडकलाई २३ करोड विनियोजन भएको थियो भने भीमढङ्गा–लामिडाँडा–ठूलो खोला–दमाहाढुंगा सडकलाई १७ करोड १० लाख रुपैया विनियोजन गरिएको थियो ।

सडक संघीय सरकारले बनाउने कि प्रदेश सरकारले भन्ने अन्यौलताकाबीच प्रदेश सदस्य पाण्डेले छलफलको क्रममा आफुले दुई वटा सडकलाई विशेष ध्यान दिएको बताए । उनले भने नयाँ नीति अनुसार प्रदेश सरकार अन्र्तगत गएपनि जनशक्ति अभाव र स्पष्ट नीति नबनेका कारण भीमढुंङ्गा–लामिडाँडा सडक र धार्के–सितापाईला सडकलाई संघीय सरकार मातहत नै ल्याउनुपर्छ र संघले नै काम पुरा गर्नुपर्छ भनेर आफु लागेको भन्दै प्रदेश सदस्य पाण्डेले स्थानीय जनतालाई आश्वस्त पार्न खोजेका थिए । आफुले मन्त्री रघुवीर महासेठलाई समेत पटक–पटक भेट गरेको पाण्डेले बताए । अब संघमा प्रदेशको मुख्यमन्त्री कार्यालयबाट पत्र आएको छ । मन्त्री ज्यूले अबको केही समय भित्रै काम सुरु हुन्छ भन्नुभएको छ । तपाईहरु ढुक्क हुनुहोस् पाण्डेको आश्वनसन थियो । केही दिन अघि पनि संघीय सांसद भूमि त्रिपाठीसंगपनि स्थानीय नागरिकले सडकको विषयमा जान्न चाहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search