अधिकार सुरक्षित गर्न उपभोक्ता नै जागरुक हुनुपर्छः प्रधानमन्त्री

काठमाण्डौ । आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ताहरु आफैं जागरुक हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आम उपभोक्तालाई जागरुक हुन आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा सेवा दिने निकाय, उद्यमी, व्यावसायीलगायत सबै सरोकारवालाहरुले उपभोक्ताको अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी काम गर्न स्मरण गराएका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा लेखेका छन्, ‘यस क्षेत्रमा सक्रिय नियामक निकायहरुले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता अधिकार संरक्षणका लागि अझ क्रियाशील हुनुपर्ने खाँचो छ ।’ संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको उपभोक्ता अधिकार सम्बन्धी मार्ग निर्देशनका आधारमा सरकारले कानुनहरुको निर्माण र संशोधन गरी उपभोक्ताको अधिकारलाई मजबुद गर्न हर तरहले प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search