न्यूजिल्याण्डको क्राइस्टचर्चमा अन्धाधुन्द गोली प्रहार, ३० जनाको मृत्यु

काठमाडौँ । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित कम्तीमा ३० जनाको गोली लागेर ज्यान गएको न्यूजिल्यान्डका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणकारीको गोली लागेर ५० जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ । न्यूजिल्यान्डको भ्रमणमा रहेको बंलादेशी क्रिकेट टिम मुस्किल जोगिएको छ । बंगादेश टिमका खेलाडी पनि आज बिहान प्रार्थनाका लागि त्यही मस्जिदमा गएका थिए ।

बंगलादेश टिमका खेलाडीले ट्वीट गर्दै आफूहरू सुरक्षित होटलमा पुगेको जनाएका छन् । उनीहरू मस्जिदबाट भागेर सुरक्षित रुपमा होटल पुगेका हुन् ।

प्रहरी कमिस्नर माइक बुसले गोली चलाउने एक व्यक्तिलाई नियन्त्रणमा लिएको स्थानीय मिडियालाई बताएका छन् । मस्जिदमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । गोली प्रहार गर्ने अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए । थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ ।

प्रहरीले स्थानीय बासिन्दालाई आज मस्जिदमा नजान आग्रह गरेको छ । ढोका बन्द गरेर घर बस्न स्थानीय बासिन्दालाई प्रहरीले आग्रह गरेको छ ।

क्राइस्टचर्चकी मेयर लियानेर डलजीएलले त्यहाँ रहेका विद्यार्थी सुरक्षित रहेको बताएकी छन् । उनले यस्तो अवस्थामा शान्ती बनाइराख्न आग्रह गरेकी छन् ।

एक प्रत्यक्षदर्शीले स्थानीय मिडियासँग आफू भागेर बाँचेको बताएका छन् । अल नूर मस्जिदमा रगत लतपतिएका थुप्रै मान्छे देखेको उनले बताएका छन् । अल नूर मस्जिदमा पनि अन्धाधुन्द गोली चलाइएको हो ।

न्यूजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले देशवासीका नाममा सम्बोधन गर्दै शान्त रहन आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘अहिलेसम्म एकीन त भएको छैन, तैपनि म यसलाई न्यूजिल्यान्डका लागि सबैभन्दा कालो दिन भन्छु ।’

प्रहरीले सो क्षेत्रका विद्यालय र अस्पताल बन्द गरेको छ । त्यहाँ नआउने स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search