बिहिबार, असार १२, २०७६

पम्परागत कर्णालीको हुड्के नाच हराउँदै



काठमाडौं । जुम्ला जिल्लाको पम्परागत हुड्के नाच हराउँदै गएको छ । जुम्लालगायत अन्य जिल्लामा पनि विवाह, व्रतबन्धलगायत समारोहमा पञ्चैबाजासँगै हुड्के नाच पनि निकै प्रचलनमा थियो ।

पछिल्लो समय यस्ता कार्यक्रममा पञ्चैबाजासँगै हुड्के नाचको माग हुन छाडेकाले लोप हुने अवस्थामा पुगेको हो । बजारमा सजिलै उपलब्ध हुने आधुनिक गीत सङ्गीत र बाजाको प्रभावसँगै परम्परागत रूपमा बजाइने मौलिक लोकबाजा हराउन थालेका हुन् । केही वर्ष पहिले वैवाहिक समारोहमा अनिवार्य जस्तै बनेको हुड्के नाच र पञ्चैबाजाको माग घट्दै गएको यहाँका बासिन्दाले बताए ।

कर्णालीको मौलिकता झल्काउने हुड्के र पञ्चैबाचा बजाउने सीप पछिल्लो पुस्तामा हस्तान्तरण नहुनु र नयाँ पुस्ताले समेत यसमा बेवास्ता गरेकाले यसको संरक्षण गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ थियो। पञ्चैबाजामा पर्ने नरसिङ्गा, दमाहा, सनहीलगायत बाजाको प्रयोगसँगै हुड्के नाच्ने गरिन्थ्यो । यतिबेला गाउँघरमा यस्ता बाजा नै पाउन कठिन छ । गाउँघरका बुढापाका र पर्यटक हुड्के नाच र पञ्चैबाजाप्रति निकै आकर्षित भए पनि यसको प्रवद्र्धन हुनसकेको छैन । हुड्के नाच, ढाल नाच, मागल, चुट्किलाजस्ता जातीय तथा क्षेत्रीय पहिचान बोकेका नाचका साथै कर्णालीका मौलिक कला संस्कृतिको संरक्षण नहुँदा तिनको अस्तित्व घट्दै गएको हो ।

यस्ता कला र संस्कृतिको जगेर्ना गर्न स्थानीय सरकारले लगानी गर्न सके साँस्कृतिक पर्यटन प्रवद्र्धन हुने स्थानीय युवा जयप्रसाद गौतमले बताउनुभयो । जिल्लाको तातोपानी गाउँपालिकाले गाउँसभामार्फत कार्यविधि नै बनाएर पञ्चैबाजा संरक्षणका लागि पाँच लाख रकमसमेत विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भन्नुभयो, “यसले परम्परागत संस्कृति संरक्षण तथा प्रवद्र्धन हुन्छ ।” उहाँका अनुसार पञ्चैबाजा संरक्षण र प्रवद्र्धनका लागि दमाइँ जाति बसोवास गर्ने वडामा सञ्चालक समितिसमेत गठन गरिने हुड्के तथा पञ्चैबाजाको टोलीलाई आवश्यकपर्ने पहिरन र वार्षिक रकम उलब्ध गराइने भएको छ ।

जन्म, विवाहजस्ता शुभकार्यमा हुड्के नाचिन्छ । परम्परा र संस्कृतिसँगै कर्णालीको हुड्के नाच आम्दानीको एउटा राम्रो स्रोत पनि बनेको थियो । हुड्के नाच्न जान्नेलाई निमन्त्रणा आउँदा सिधैँ ज्याला निर्धारण हुन्थ्यो । कम्तीमा एक दिनमा खाना खाएर एक हजारदेखि पाँच हजारसम्म नाच्नेले लिने गर्दथ्यो । तिला–१ का हस्त दमाइँका अनुसार कुनै विशेष अवसरमा १०/१५ हजार पनि आम्दानी हुने गर्दथ्यो । हुड्के नाच्न कम्तीमा सात जना चाहिन्छ, यसमा गाउन सिपालु दुई जना उठेर नाच्नाका साथै गीत पनि गाउने गर्नुपर्छ भने एकजना मादल बजाउने र अन्य चारजनाले भाका छोप्नुपर्छ ।

गाउन वा नाच्ने एउटाको मात्रै कमी भए हुड्के नाचमा असर पर्छ। हुड्के नाच्दा सेतो कपडाले बनेको आँगा, शिरमा फेटा, कम्मरमा पेटी, चस्मा, खुट्टामा चाम लगाइने र बाख्राको छालाले बनाइएको हुड्को समातेर नाचिन्छ । गाउँदा हुड्को कानमा राखी ताल मिलाएर गाउने गरिन्छ । हुड्के नाच जिल्लाको तातोपानी, रारा, सिञ्जाको जाच र गोरामा निकै प्रचलित छ भने कालीकोट र मुगु जिल्लाका विभिन्न क्षेत्रमा पनि यो नाचको प्रचालन छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology