शनिबार, जेष्ठ ११, २०७६

‘यो सरकारले चमत्कारमाथि चमत्कार हाेइन, बलत्कारमाथि बलत्कार गरिरहेको छ’



एक मुस्लिम विद्रोहि छोरीको नाम हो- नजबुल खान ‘निलम’ ।  हिउँभन्दा बढी छाेइने र आगाेभन्दा बढी पाेल्ने नजबुल हरेक विभेदका विरुद्ध  सतिसाल भएर उभिंदै आएकी छिन् । महिलामाथि गरिने हरेक विभेदमाथि ‘नाेट अफ डिसेन्ट’ लेख्दै आएकी उनी महिलालाई रमाइलाेकाे साधन ठान्नेहरुका लागि भर्भरउँदाे आगाे हुन् ।

मुस्लिम महिलाका लागि बुर्का नलगाइ हिड्नु ठूलो अपराध हो, त्यहि अपराध गरेर समाजको पुरातन सोचका विरुद्ध विद्रोह गरेकी नजबुलको १८ वर्षको उमेरमा अक्षरसँग जम्का भेट हुन्छ । मुस्लिम समुदायकी नजबुलको गाउँमा प्रौढ शिक्षा सञ्चालन भएकै बेला अक्षरसँग चिनजान  हुन्छ ।

विहे गर्ने बेलामा अक्षर पढ्नतिर लागेकाे उनका आमाबुबलाई पटक्कै मन नपरेकाे  भएपनि उनी परिवारसँग विद्राेह गरेर प्रौढ कक्षा जान्छिन गकखरा र एबीसीडी सिक्न ।१८ वर्षको उमेरमा कख र एविसीडी चिन्न थालेपछि नजबुलको जिन्दगिले नयाँ मोड लिन्छ । समाजसँग विद्रोह गर्दैै उनी राजधानी आउछिन र नेपालकै पहिलाे मुस्लिम महिला  ट्याम्पो ड्राइभर बन्छिन ।  पढाइ जारी नै हुन्छ ।

२०६० साल पुष १८ मा उनले उदयपुरमा ‘मूलधार महिला सेवा केन्द्र’ नामकाे संस्था  स्थापना गरेर अहिले उनी गाउँमा मुस्लिम, दलित, जनजाति, एकल महिलाको उत्थानका लागि काम गर्दै आएकी छिन् । बलात्कारीलाई कारबाही गर्नुपर्छ भनेर अभियान सञ्चालन गर्दै हिड्दा धेरैपटक उनले आक्रमणको सामना पनि गरेकि छिन् ।

२०६२ सालको लोकतान्त्रिक आन्दोलनमा सहभागी भएका बेला २०६३ साल वैशाख ५ गते उनको घाँटीमा अश्रु ग्याँसको खोका लाग्दा सधैका लागि स्वर दवेर गएपनि उनको महिला हिंशा विरुद्धको आन्दाेनल र महिला अधिकारको आवाज झनै बुलन्द बन्दै गएको छ ।

सरकारसँग निशुल्क प्याडकाे माग गर्दै देशभर अभियान चलाउनले छाेरी उनै हुन् । बंगलादेशमा पुगेरसमेत उनले महिलाको अधिकार, सामजिक कुरीति विरुद्ध जनजागरण कार्यक्रम गरेकि नजबुललाई उनकाे अभियान र साहसकाे कदर गर्दै  विभिन्न मानव अधिकारकाे राष्ट्रिय सम्मान पनि दिइएकाे छ ।

‘दबंग लेडी’ ’ विद्रोही छोरी’ ‘नजबुल खान उदयपुरको शान’ लगायत उपनामले समेत चिनिने उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरीकी ३८ वर्षीया नजबुल खानसँग एसकाठमाण्डाैले गरेकाे कुराकानीकाे सम्पादित अंश यहाँ प्रस्तुत गरिएकाे छ ।

बेटीसम्मेलनको पहिलो राष्ट्रिय सम्मेलन गर्दै हुनुहुन्छ । बेटिसम्मेलन के हो ?

बेटी सम्मेलन आधा आकास ढाक्ने महिलाहरुको अधिकारका लागि गर्न लागिएकाे सम्मेलन हो । ‘सहन नपरोस हिंशा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलिबेटी सशक्तिकरणको हतियार’ भन्ने नारासहित हामी बेटी सम्मेलन गर्दैछौं । यो हिमाल, पहाड र तराईलाई जोडेर गरिएको नेपालको इतिहासमै पहिलो सम्मेलन हो । मूलधार महिला सेवा केन्द्रको आयोजनामा यो कार्यक्रम हुँदैछ । म यसको अध्यक्ष पनि हुँ ।

हामीले सातै प्रदेशमा प्रदेशस्तरीय अभियान पुरा गरिसकेका छौं । अब सातै प्रदेशका प्रतिनिधिहरुको उपस्थितिमा माघ २७ तगेबाट उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुँदैछ । यसमा हरेक क्षेत्रका प्रथम व्यक्तित्वहरुकोसमेत सहभागिता रहेने छ ।

तपाईहरुले कुन कुन क्षेत्रमा अभियान गरिरहनु भएको छ ?

‘मूलधार महिला सेवा केन्द्र २०६० सालमै उदयपुरमा स्थापना भएको थियो । स्थापनादेखि नै बाल विवाह, बहुविवाह, दाइजो प्रथा, तिलक प्रथा, विना कारण दिने तलास प्रथा र महिला हिंशा विरुद्ध अभियान चलाउँदै आएका छौं । त्यतिमात्रै होइन मुस्लिम, दलित, जनजाति, एकल महिलाको उत्थानका लागि जन्मदर्ता, विबाह दर्ता, नागरिकता, शिक्षा लगायतको अभियान चलाउँदै आएका छौं ।

देशमा यति ठूलो राजनीतिक परिवर्तन भयो तर महिलाका गम्भिर सवालहरुको समाधान किन राजनीतिबाट हुन सकेन र अलग्गै मोर्चा बनाएर लड्नु परिरहेकाे छ ?

यो त तपाईले मनै छुने कुरा गर्नुभयो । वास्तवमा राजनीतिबाट यी सवालहरु ओजेलमा पर्नुकाे कारण सहि ठाउँमा सहि मान्छे पुग्न नसकेकाले र सहि निर्णय लिन नसकेकाले हो । एकाध रुपमा हेर्दा त राष्ट्रपतिदेखि न्यापालिकामासमेत महिला पुगेका छन् तर त्यो धेरै कम छ र महिलाहरु निर्णायक पोजिसनमा पुग्न सकेका छैनन् ।

यही कुरा आफ्नो पार्टीमा किन उठाइरहन सक्नुभएको छैन् महिला नेतृत्वहरुले ?

कसरी सक्नुहुन्छ त । उहाँहरु त पार्टीमा एस म्यानमो भूमिका हुनुहुन्छ । उहाँहरुले त्यहाँ आफ्नो राजनीतिक अधिकारको कुरा राख्ने र सुनुवाइ नभए प्रतिकार गर्ने हिम्मत गर्नुपर्छ । अधिकारको कुरा राखेर मात्रै हुँदैन त्यसलाई कार्यान्वयन पनि गराउन सकेको खण्डमा मात्रै महिला हिंशाको अन्त्य हुनसक्छ ।

समाजमा जकडिएर रहेको महिला हिंशा एक दुई महिला शक्तिमा पुग्दैमा कसरी समाधान होला र ? पुरुषबाट मात्रै त महिलाहरु पीडित छैनन् । महिलाबाट पनि महिला पीडित छन् ।

हाम्रो समाजमा महिलाको दुस्मन महिला पनि छन् र पुरुषको दुस्मन पुरुष पनि छन् । हिंशा त समाजमा पुरुषको पनि छ तर संख्याको हिसाबमा महिला धेरै पीडित छन् । महिलाबाट पनि हिंशा भएको छ तर महिलाको तुलनामा पुरुष धेरै हिंस्रक र अपराधी गतिविधिमा संलग्न भएका छन् । त्यसकारण महिला हिंशाको अन्त्यका लागि आशनमा महिला चाहिन्छ र शासनमा महिला चाहिन्छ भनेर हामील अभियान चलाइरहेका छौं ।

अपराध बढ्नुमा सामाजिक कारण पनि त होला नि ?

आगो तातो हुन्छ नि तर कोइला त तातो हुँदैन । तोतो कुराले पाेल्यो भने तपाई अर्को पटक सचेत हुनुहुन्छ । कानुन बनेर पनि कडाइका साथ लागु भएन भने मान्छे कानुनबाट डराउँदैन । यहाँ त कानुन फितलो भएकाले अपराधीहरुको मनोबल झन बढेको छ । कानुन यस्तो हुनुपर्यो कि सम्झदा पनि अपराधिहरुको आङ जिरिंग होस् । त्यसकारण अपराध बढ्नुमा नेपालको कानुन, राजनीतिक लिडरहरु पनि उतिकै जिम्मेवार छन् ।

तपाईहरुले उत्पिडनमा परेका महिलाहरुको पक्षमा काम पनि गर्नुभएको छ ?

गरेका छौं नि । हामी अधिकारमूखि क्षेत्रमा काम गरिरहेका छौं । हामी जुन सवालमा काम गछौं त्यहि सवालमा बवाल पनि गछौं । हामीले बलत्कार, दुव्र्यवहारको घटनाहरुमा सवाल उठाउँदै गर्दा ममथि भौतिक हमला पनि भएको छ । म अहिले पनि अपराधीहरुको कुटाइका कारण  स्वास्थ्य समस्या भाेगिरहेकाे छु । हामीले सवाल उठाउँदै जाँदा अपराधीहरुकाे तार्गेटमा पनि पर्दै आएका छौं ।

त्यस्तै स्लाम समुदायमा हुने गरेका गलत कामहरुका विरुद्धमा पनि हामीले बहस पैरवी गर्दै आएका छौं । त्यसैगरी सुत्केरी महिलाको स्वास्थ्यको अधिकार र प्रजनन अधिकारको क्षेत्रमा पनि हामीले काम गर्दै आएका छौं । स्वस्थ हुने अधिकार त मुस्लिम महिलालाई पनि हुन्छ । संसारभरीका महिलालाई हुन्छ नि । मुस्लिम समुदायमा गर्भवती भएका बेलामा पनि अस्पताल नजाले, धेरै बच्चा जन्मे पनि अस्थाइ साधन प्रयोग नगर्ने समस्या छ । त्यसमा पनि हामीले काम गरेका छौं ।

हामीले स्थापनाको समयदेखि नै महिलहरुको भूमि अधिकार, शिक्षा अधिकार र मानव अधिकारको सवालमा निरन्तर विषय उठाइरहेका छौं । हाम्राे कार्यक्रम सचेतनामूलक र एक्सनमूलक दुवै हुन्छ ।

वर्तमान सरकारको पालामा झनै महिला हिंशा बढिरहेको छ । तपाई के भन्नु हुन्छ ।

देशभरी नै थुप्रै निर्मलाहरुको बलत्कारपछि हत्या भैरहेको छ । कसैले बलत्कार पछि आत्म हत्या गरेका छन् । अन्य सामान्य घटनाहरु त कति छन् कति । त्यसको लेखा जोखा नै छैनन् । एसिड काण्डहरु पनि डरलाग्दो रुपमा घटिरहेको छ । राजनीतिक पार्टीहरुले नै गुण्डाहरुलाई पालेर राखेको छ । संरक्षण गरेर राखेको छ । अनि अपराध नभएर के हुन्छ त ?

वर्तमान सरकारप्रतिको आक्रोशलाई तपाई कसरी व्यक्त गर्नुहुन्छ ?

यो सरकरारको कुनै हैसियत नै छैन । कुनै पहिचान छैन । यहाँ एउटा मात्रै कुरा छ जनताले दिएको दुई तिहाई । तर, यो सरकारले जनताले दिएको दुईतिहाइ मतको धज्जी उडाइरहेको छ । जुन हामीलाई आशा थियाे कि देशमा स्थाई सरकार आयाे अब केहि हुन्छ । म पनि लोकतन्त्रको आन्दोलनमा सडकमा उत्रदा प्रहरीको टियर ग्यास लागेर घाइते भएँ । मेरै छेउँमा सेतुमाया विकको त मुत्यु नै भयो नेपाल गञ्जमा । अहिले मेरो आवाज कमजोर भएको तर मेराे हिंशाको विरुद्धकाे आवाज कमजाेर भएकाे छैन् ।

अहिलेको सरकारलाई म अनुरोध गर्नु चान्छु सुध्रिनुस् र राम्रो काम गर्नुस् । नत्र इतिहासको पानामा मात्र यो सरकार रहने छ । यो सररकार उखाने सरकार बनिरहेको छ । अब राम्रो काम गरेर बखान गर्नुपर्ने सरकार बनोस् ।

यो सरकरारले जनतालाई उखान टुक्का भनेर हसाएर चकितल भने बनाएकै छ । थ्री इडियट फ्लिममा जस्तै यो सरकारले पनि चमात्कारमाथि चमत्कार हाेइन,  बलत्कारमाथि बतत्कार गरिरहेको छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology