बिहिबार, असार १२, २०७६

भूकम्पमा ढलेका कृष्णहरी चार बर्षदेखि बेहोस, ऋणमा परिवार, बेखवर छ सरकार !



आरके जी
नुवाकोटको साबिक कुमरी गाविस डाँडागाउँका कृष्णहरि पुडासैनी अचेत भएको ४८ महिना भयो । यानि कि चार वर्ष पूरा । २०७२ वैशाख १२ गते शनिबारको महाभूकम्पमा परेपछि उनी यस्तो अवस्थामा पुगेका हुन् । विगतमा पहाडी गोरेटो छिचोल्दै हिँड्ने कृष्णहरि भूकम्पपछि बिस्तराबाट उठ्न सकेका छैनन् ।

भूकम्पका बेला उनी रसुवाको स्याफ्रुबेंसीमा स्विज माउन्टेन वे ट्रेकिङ प्रालिका इजरायली पर्यटकलाई गाइड गर्दै पदयात्रा गरिरहेका थिए । लाङटाङको पहिलो भन्ने ठाउँमा अचानक जमिन हल्लियो । पहाड पड्कियो । ढुंगामाटो बर्सियो । भागाभाग मच्चियो । तर, उनी भाग्न सकेनन् । माथिबाट झरेको पहिरोले उनलाई लछारेर ढुंगाको कापमा पु¥यायो ।

उनी चार दिनसम्म भोक र प्यासका बाबजुद रहे । उनीसँगै गएका १७ इजरायली भने पहिरोमै हराए । चौथो दिन मनाङ एयरको हेलिकप्टरले उद्धार गरी उनलाई त्रिशूलीसम्म ल्यायो । भूकम्पका घाइतेको उपचार छाउनी क्याम्पमा भइरहेको थियो । उनलाई त्यहाँ ल्याएर उपचार गरियो । केही सञ्चो भएजस्तो भएपछि २०७२ वैशाख २३ गतेतिर उनी गाउँ फर्किए ।

मृत्युको मुखबाट बाँचेर फर्किएपनि पहिरोले लछारेका कारण उनको शरीरभित्र चोट छँदै थियो । भूकम्पको चोट सामान्य मान्दै आएकाउनी पुनः थला पर्न थाले । कम्मर, ढाड र गोडाको दुखाइ बढ्न थाल्यो । बिमार बढेपछि उनका बुवा लीलानाथले उपचारका लागि काठमाडौं ल्याए ।

५ दिन भनेर ५० दिन भेन्टिलेटरमा

चाबहिलस्थित ओम अस्पतालमा भर्ना भए । तीन दिनमा रिपोर्ट आयो— टिटानस । निःशुल्क उपचार पाइने भन्दै ओमले टेकु अस्पताल रिफर गरिदियो । तर, टेकुमाआईसीयू नभएकाले तत्काल राख्न मानेन । लीलानाथले छोरालाई बालाजुको जनमैत्री अस्पताल लगे । जनमैत्रीका डाक्टरले भेन्टिलेटरमा राख्नुपर्ने बताए । सञ्चो होला भन्ने आशामा पाँच दिनका लागि आईसीयूमा राखियो । तर, डाक्टरले ५० दिनसम्म आईसीयूमै राखेको लीलानाथ बताउँछन् । ‘पाँचदिन भनेर ५० दिन भेन्टिलेटरमा राखिदिए’, उनी भन्छन् ।

बोल्दै गरेको छोरो भेन्टिलेटरबाट फर्किंदा बोल्नै नसक्ने भए । उनले छोरोको होस फर्किने आशामा सात महिना ११ दिन जनमैत्री कुरे । तर,स्वास्थ्य अवस्था झन् गम्भीर हुँदै गयो । गोडाका औंला झर्दै गए । दुवै कुर्कुचा पाक्दै गए । आङभरि खटिरा थपिँदै गयो । अनेक घाउ देखेर जनमैत्री अस्पतालले ट्रमा सेन्टरमा पठाइदियो । ‘ट्रमा सेन्टरमा चारदिनसम्म अलपत्र पा¥यो’, गहभरि आँसु पार्दै लीलानाथ भन्छन् । पाँचौं दिनमा कृष्णहरि ट्रमामा भर्ना भए । त्यहाँ पनि नौ महिना १२ दिन छोरो कुरेर बसे लीलानाथ । तर, कृष्णहरि तंग्रिएनन् ।

अस्पताल चहार्दा २५ लाख ऋण

भूकम्पपीडितलाई राहत दिने हल्ला चल्यो । घाइतेलाई निःशुल्क उपचार गर्ने सुनियो । केही पाए उपचार गर्न सजिलो हुने आशामा लीलानाथ गाउँ पुगे । गाविस, जिल्ला प्रशासन, स्विसज माउन्टेन वे ट्रेकिङ प्रालि र मनाङ एयरले कृष्णहरि भूकम्पमा घाइते भएको प्रमाणित गरे । उपचारका लागि सिफारिस गरे । सारा सिफारिस बोकेर लीलानाथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे । मन्त्रालयले आईसीयू भएका टप सात अस्पताललाई चिठी लेखिदियो । ‘मन्त्रालयले लेखेको चिठी पाए पनि जनमैत्रीले तोकिदिएको अस्पतालमा रिफर गरिदिएन’, अस्पतालको लापरवाही सुनाउँछन् लीलानाथ ।

६९२३ नम्बर ट्रेकिङ गाइड लाइसेन्स पाएका कृष्णहरि विदेशीलाई नेपाल घुमाउँदा–घुमाउँदै ढले । उनी टोलाइरहेका छन् । जवान छोरोको निगरानीमा रातदिन नभनी खटिइरहेका लीलानाथ भन्छन्, ‘होस फर्किहाल्छ कि भन्ने आशा छ ।’

छोरो बचाउन लीलानाथले १६ महिनासम्म अस्पताल चहारिरहे । २५ लाख ऋण बोके । तैपनि कृष्णहरि उठ्न सकेका छैनन् । लीलानाथ कृष्णहरिको स्याहारमा खटिइरहेका छन् ।

नेपाल हेल्थ केयर इक्वाइपमेन्ट डेभलपमेन्ट फाउनडेसनको भवनमा कृष्णहरि ३० महिनादेखि लडिरहेका छन् । उक्त संस्थाको सहयोगमा छोरो बोल्ने हुन्छ कि भन्ने आस साँचेका छन्, ५८ वर्षीय लीलानाथले ।भन्छन्, ‘भूकम्पले मेरो सहारा खोसिदियो ।’ यति भन्दा उनका आँखा रसाए । २३ लाख रुपैयाँको बिल स्वास्थ्य मन्त्रालयमा बुझाएको पनि नौ महिना भइसक्यो । तर, सरकारले यसमा कारबाही गरेको छैन ।

परिवारका सदस्य गोठमै

चार वर्ष भइसक्यो भूकम्प गएको । त्यो विनाशकारी भूकम्प सम्झिँदा हरेक नेपालीको मन कटक्क हुन्छ । लीलानाथका लागिसधैं भूकम्प गएझैं भएको छ। उनकाछोरो लाङटाङमा लडे । नुवाकोटमा घर ढल्यो । भूकम्पपछि परिवारका सदस्य भत्किएको घरबाट गोठमा सरे । अहिलेसम्म गोठमै ओतिएका छन् । लीलानाथगाउँ फर्किन पाएका छैनन्। सरकारले घर बनाउन ५० हजार दियो । त्यो पनि उनले छोरोको उपचारमै खर्चिए । ‘छोरो बाँचे यस्ता घर कति बनाउँछ–बनाउँछ’, उनी भन्छन् ।

कुमरी गाविस डाँडागाउँ बेलकोट नगरपालिका भइसक्यो । ३० महिनादेखि गाउँ फर्किएका छैनन् उनी । चुनाव सकियो । विकासे लहरले उनको गाउँसम्म गाडी गुड्ने खबर सुन्न पाए । धुलोबाटो ग्राभेल भएको पनि सुने । तर, छोरो बोल्ने भयो भनेर उनले घरका जहानलाई सुनाउन पाएका छैनन् । छोरो अझै नउठेको देखेर लीलानाथ मलिन हुँदै भन्छन्, ‘छोरो बोलेको सुन्ने रहर हो ।’ बोल्दाबोल्दै उनी भक्कानिए ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology