मलाई ज्यान मार्ने धम्की दिनेमा राजनीतिकर्मीकै हात छ, समय आए भनौला-लिङदेन

काठमाडौं । राप्रपाका महामन्त्री तथा सांसद राजेन्द्र लिङदेनले दुई दिन लगातार ज्यान मार्ने धम्की आएपछि पार्टी अध्यक्ष कमल थापा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेको बताएका छन् । बुधवार गृहजिल्ला झापामा पत्रकार सम्मेलन गरी लिङदेनले चैत ७ र ८ गते आफुलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । ‘९८४३९४७२९४ नम्बरबाट पहिला एसएमएस आयो’ पत्रकार सम्मेलनमा म्यासेज देखाउँदै लिङदेनले भने ‘त्यसपछिका दुई दिन लगातार ज्यान मार्ने धम्की आउन थाल्यो ।’

म्यासेजमा सहयोगी बनेर आएको थियो । पहिलो म्यासेज शुभचिन्तकले पठाए जसरी आएको लिङदेनले बताए । ‘म अहिले विदेश जान प्लेनमा छु। तपाईंलाई मार्ने षड्यन्त्र हुँदै गरेको मैले थाह पाएँ। पाँच जना मान्छेहरु होटलमा तपाईंलाई मार्ने कुरा गर्दैछन् भन्ने म्यासेज शुभेच्छुक बनेर आयो’ म्यासेज देखाउँदै लिङदेनले भने । शुभेच्छुक बनेकाले अर्काे ९८१३५४४९२९ नम्वर पनि दिएका थिए । त्यस नम्बरबाट लगातार भ्वाइस ह्वाट्सएपबाट आउन थालेको बताए । ‘आएका म्यासेजजति सवै हिन्दी भाषामा थिए’ लिङदेनले भने ।

हिन्दी भाषामा आएका म्यासेजहरु धम्कीपूर्ण थिए । ‘तँलाई मार्नका लागि मलाई पचास लाख रुपैयाँ दिएको छ। तर तँ जस्तो राम्रो मान्छेलाई मार्ने मन छैन। तर के गर्नु म त पैसामा काम गर्ने मान्छे’ भन्दै बारम्बार भ्वाइस म्यासेज आउन थाले’ पत्रकार सम्मेलनमा उनले भने ।

धेरै म्यासेज आउन थालेपछि लिङदेन केही तनावमा परेका थिए । तनावकैबीच उनले पार्टी अध्यक्ष कमल थापालाई म्यासेज देखाए । त्यसपछि दुवै जना प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । म्यासेज प्रधानमन्त्रीलाई पनि देखाइएको थियो । प्रधानमन्त्री र कमल थापाको सल्लाहपछि लिङदेन प्रहरी प्रधान कार्यालय पुगेका थिए । म्यासेज पठाउने र धम्की दिने ब्यक्ति पक्राउ परेपछि मात्र घटना बाहिर आएको थियो ।
लिङदेनको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो । पहिलो काम प्रहरीले मोवाईल ट्र्याक गर्दै गएको थियो भने जुन फोनबाट म्यासेज आयो त्यो सीमका धनी खोजेपछि उसले अनेकौं सीम प्रयोग गर्दै फाल्दै गरेको पत्ता लगायो ।

लिङदेनले झापाकै केही राजनीतिकर्मीहरुको यो मुद्दामा हात रहेको संकेत पनि गरेका छन्। उनले भने, ‘सबैकुरा अहिले खोल्न मिल्दैन। राजनीतिक प्रतिशोध साँध्नेहरुको हात छ भन्ने चाहिँ लाग्छ।’

प्रतिक्रिया दिनुहोस्
X
Type to search