राजनीतिले जहिले लात हानिरहेको भूइमान्छेहरूको कथा हो-फातसुङ

छुदिन काबिमो भारतीय मूलका नेपाली भाषी साहित्यकार हुन् । कथा संग्रह १९८६ का लागि साहित्य अकादमी युवा पुरस्कार २०१८ प्राप्त गरिसकेका छन् । भाषाका लागि गरिएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा लेखिएको उपन्यास फातसुङका कारण चर्चामा रहेका लेखकसँग एस काठमाडौंले गरेको कुराकानीको सम्पादित अंश ।


फातसुङ उपन्यास भर्खर बजारमा आयो । दार्जिलिङमा बसेर नेपाली साहित्य लेख्न कति गाह्रो छ ?

दार्जिलिङका नेपाली भाषीहरू भनेका भारतेली नागरिकहरू हुन् । उनीहरूको आफ्नै पहिचान छ । समस्या के हो भने, जसलाई आजपनि भारत नेपाल मैत्री सन्धि १९५० ले घरिघरि समस्यामा हाल्ने गरेको छ । किनकि नेपाल भारतबीच खुल्ला आवत—जावत रोक्ने कानून छैन । जसको कारण देशको नागरिकता र अनुप्रवेशकारीबीचको रेखा धमिलो बनाइदिएको छ । यसैले गर्दा नै दार्जिलिङका नेपाली भाषीहरूलाई घरिघरि नेपालसंग जोड़ेर हेर्ने गरेको छ। दार्जी्लिङमा हुने अलग राज्य गोर्खाल्याण्ड आन्दोलनको जरा पनि खासमा त्यही हो। जुन सन्धिको संशोधन जरूरी छ ।

भारतेली नेपाली साहित्यकारहरूको आफ्नै समस्या भनेको यहाँको किताब बजार सानो हुनु हो । भारतमा नेपालीभाषीहरू चारतिर छरिएर बसेका छन् । जसको कारण देशमा डेड़ करोड़ नेपाली भाषीहरू रहेको दावी गरे तापनि नेपाली किताब सबैसम्म पुग्दैन । नत्र एक प्रतिशत मात्रै किताब बिके, डेड़ लाख किताब यता बिक्नु पर्ने हो । त्यो भा छैन । प्रकाशन गृहहरूको कमी छ । आफै किताब छापेर आफैले बेच्ने खालको अवस्था छ । अब बिस्तारै माहोल बन्दैछ । प्रकाशन गृहहरू खुल्दैछ । अब केही होला कि ? आशा गरौं ।

भारतेली मूलको नेपाली भाषा बोल्ने छुदेनको फातसुङमा कुन परिवेशको घटना छ ?

फातसुङ दार्जिलिङको कथा हो । दार्जिलिङ भित्र धेरै साना साना अरू दार्जिलिङ छन् यो त्यही साना साना दार्जिलिङहरूको कथा हो। यो दार्जिलिङले देख्ने अलिकति सपनाको कथा पनि हो । दार्जिलिङले गर्ने अलिकति प्रेमको कथा पनि हो । १९८६ मा दार्जिलिङमा अलग राज्यको निम्ति गोर्खाल्याण्ड आन्दोलन भयो । कथाको केन्द्रमा तपाईले त्यही आन्दोलनलाई पाउनु हुनेछ । मेरो कोशिस भनेको दार्जिलिङको नक्सा देखाउनु हो । त्यसैले तपाईले त्यहाँ अरू थोक नि पाउन सक्नु हुनेछ, जुन थोकहरूले दार्जिलिङ बनेको छ।

‘नेप्टी चेप्टी दार्जिलिङ कस्तो छ ?

दार्जिलिङ सहर बत्तीको लहर, वैकुण्ठ जस्तै छ ।’

के दार्जिलिङ साच्चै त्यति सुन्दर छ त ? दार्जिलिङ भनेको टुरिष्टको निम्ति खिचिएको शहरको नक्सा मात्रै हो त ? मैले देखाउन चाहेको कुरा त्यही हो। दार्जिलिङभित्र चियाबगानहरू छन्, जहाँका श्रमिकहरू आज पनि आधा पेट छन्। दार्जिलिङसंगै उभिएको कालेबुङ गाउँ र बस्तीहरूले बनेको पहाड़ हो। जहाँका मानिसहरूले राशन कार्डमा कालेबुङ र दार्जिलिङ लेखिरहन्छ, तर दार्जिलिङ र कालेबुङको मुख्य शहर नदेखी मर्छन् ।

खासमा यो कथा तोरीका दाना जस्ता साना साना सपना देख्ने भूइमान्छेहरूको कथा हो। जुन सपनालाई राजनीतिले जहिले लात हानिरहेको हुन्छ।

फातसुङ – आम मान्छेको सपनाहरूको कथा हो । त्यसैले उनीहरूले बाँचेको समाजको परिवेश नै फातसुङमा समेटिएको छ।

तपाईँको बाल्यकाल र कालेबुङलाई आजको आँखाबाट हेर्दा के पाउनु हुन्छ ?

मैले भनि हाले नि, म कालेबुङभित्रको एउटा सानो कालेबुङमा जन्मिएको मान्छे हुँ । जसलाई मानिसहरू मलबुङ भन्छन् । जो रेलीपारिको निम्बोङ ग्रामपञ्चायतभित्र छ। त्यो ठाउँमा आज पनि पक्का सड़क पुगेको छैन। एउटा जुनियर हाइस्कूल छैन । स्वास्थ्य केन्द्र छैन। मेरो बाल्यकाल त्यही बितेको हो । प्राइमेरी सकेपछि जब हाइस्कूल जानुपर्यो, मैले दिनमा ट घण्टा हिँड़नु पर्यो। म बिहान ट बजी नै सिम्बल तरूल पोको पारेर स्कूल हिँड़्थे। स्कूल छुट्टी भएर घर आइपुग्दा बेलुकीको ट नै बजेको हुन्थ्यो। गोजीमा एक रूपियाँ नहुँदाको अवस्था कस्तो हुन्छ ? त्यो अनुभव पनि म संग छ। मेरो भाई लगेन म भन्दा डेड़ साल मात्रै सानो हो। हामी संगै स्कूल धाउँथ्यौं । अभाव यति धेर थियो, हामी बाटोमा कसैले झारेको पैसा पाइन्छ कि भनेर खोज्दै हिँड़थ्यौं ।

आजको कालेबुङ पनि त्यस्तै त छ नि । तपाईँले कालेबुङ भनेर शहरलाई फोकस गर्नु भयो भने त्यस्तो समस्या छैन। डेलो, दुर्बीन, लाभा, कफेर ता निकै सुन्दर छ, जो कसै न कसैको गीत बनेर हिज पनि बजेको थियो। भोलि पनि बज्नेछ। तर, त्यही कालेबुङभित्र अरू साना साना कालेबुङहरू पनि त छन्। जुन साना कालेबुङलाई ठूला कालेबुङसम्म आइपुग्न घण्टौ लाग्छ। त्यस्तै कालेबुङहरू हो, सोर्याक्सा, रम्बी, पोख्रेबुङ, ग्यासोक, सुङ्गुरे, मलबुङहरू । जहाँका नयाँ पीडितले आज पनि हाइस्कूल पुग्नलाई घण्टौ हिँड़नुपर्छ।

म आजको अवस्थामा पनि कालेबुङलाई दुइवटा कालेबुङमा बाँडिएको देख्छु। एउटा कालेबुङ, जो खुशीको गीत बन्छ, अर्को कालेबुङ, जो पीड़ाको कथा बन्छ।

भारतीय मूलका नेपाली भाषीको सामाजिक र सांस्कृतिक पक्षलाई नेपाली भाषी साहित्यमा लेख्न कतिको जोखिम र कस्तो भूमिकाले प्रेरित गर्दछ ?

भारतेली नेपालीभाषी भनेको एउटा फूलको गुच्छा जस्तै हो। जहाँ धेरैवटा रंग र सुगन्ध भएका फूलहरू उनिएका हुन्छन् । दार्जिलिङ सिक्किममा बहुमतमा रहे तापनि नेपालीभाषीहरू अन्य धेरै ठाउँमा अल्पमतमा छन् । जस्तै पूर्वोत्तरतिरका केही नेपालीहरूले आफ्नै भाषा साहित्य सिक्नको निम्ति संघर्ष गर्नुपर्ने अवस्था छ । त्यसैले हरेक ठाउँका नेपालीहरूको आफ्नै सामाजिक अवस्था छ । संस्कृतिमाथिको अलग अलग बाहिरी प्रभाव छ । तैपनि सबैको निम्ति मूल समस्या भनेको पहिचानको समस्या नै हो ।

मान्छेलाई एकै किसिमको उपलब्धि वा खुशीले इर्षा र आह्रिस उत्पन्न गराउँन सक्छ ! तर एउटैखाले दुःख र एउटैखाले समस्याले जहिले एक बनाइरहन्छ । जहाँ र जस्तोसुकै अवस्थामा रहे पनि, भारतमा नेपालीहरूले भोगेको दुःख एकै एकै खाले भएकोले उनीहरू आवश्यकतामा एक भइहाल्छन् ।

नेपाली भाषीभित्र रहेका अलग—अलग जात गोष्ठीसंग पनि आ-आफ्नै भाषा,साहित्य र संस्कृति छ। पछिल्लो समयमा यी साना साना भाषाहरूको निम्ति पनि धेरथोर काम भइरहेको देखिन्छ। तर, ती साना साना भाषाका शब्द, समस्या र कुराहरू नेपाली भाषाको मूलधारमा आइपुग्दा अलिअलि फरक त देखा परिहाल्छ नै ।

दार्जिलिङको सबैभन्दा ठूलो समस्या राजनीति हो। कहिलेकहीं यी भाषा, समाज, संस्कृति र जात गोष्ठीहरूबीच पनि राजनीति घुसिदिन्छ । जस्तो कि, दार्जिलिङ सबै भन्दा पुरानो लेप्चा भाषालाई पढाउने अधिसूचना पश्चिम बंगाल सरकारले जारी गरेको थियो । तर, यही कुरा तत्कालीन दार्जी्लिङको सत्तालाई मन परेन र क्षेत्रीय व्यावस्थामाथि हस्तक्षेप भयो भन्दै अदालत पुग्यो। जुन मुद्दा अहिलेसम्म अल्झिरहेको छ। लेप्चा भाषालाई दार्जिलिङ अझ पढाउने व्यावस्था गरिएको छैन । जब कि, यो सन १९११सम्म दार्जिलिङ सरकारी भाषा थियो।

राजनीतिले जतिसुकै टुक्राए पनि तर, भाषा, साहित्यले जहिले मानिसहरूलाई जोडिरहेकै हुन्छ। फातसुङको प्रयास त्यही जोड़्नु पनि हो।

तपाईँको फातसुङमा छुटेको र कालेबुङमा भेटिएर पनि लेख्न नसकेको चित्र चरित्र कुन समयको र कस्तो हो ?

हरेक मान्छेको आफ्नो कथा हुन्छ । हरेक ठाउँको आफ्नै इतिहास हुन्छ। आफ्नै पीड़ा हुन्छ। आफ्नै समस्या हुन्छ। आफ्नै उपन्यास हुन्छ। हरथोकलाई एउटा किताबभित्र समेट्न कुन लेखकले पो सक्लान् र ? कालेबुङसंग जोडि़एका त्यस्ता हजार थोकहरू हुनसक्छन् । जसलाई मैले आज लेख्नुपथ्र्यो, शायद लेखिनँ । भोलि लेख्ने कोशिस गरौंला, सायद त्यहाँ पनि चुकौंला ।

मलाई के लाग्छ भने, लेखक त्यही बन्ने हो, जसले के लेख्न भनेर चयन गर्ने क्षमता राख्न सक्छन् । निक्र्योल गरेर निर्णय गर्ने हिम्मत जुटाउन सक्छन् । मैले त्यही कोशिस पहिलो उपन्यासमा गरेँ । थाहा छैन, सही गरे वा गलत गरेँ। तर अहिलेको अवस्थामा मलाई अरू जम्मै थोकलाई नलेखेर जुन कुरा लेखौं भन्ने लाग्यो, त्यही कुरा फातसुङमा लेखेको हुँ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search