चेल्सीलाई हराउँदै लिभरपुल पुनः शीर्ष स्थानमा फर्कियो

काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको दौण्डमा लिभरपुल र म्यान्चेष्टर सिटीबीच रोमाञ्चक प्रतिस्पर्धा चलेको छ । क्रिष्टल प्यालेसलाई हराउँदै शीर्ष स्थानमा पुगेको सिटी केही घण्टा नवित्दै पुनः दोस्रो स्थानमा झरेको हो । आइतबार भएको खेलमा चेल्सीलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा फर्किएपछि सिटी दोस्रो स्थानमा झरेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र मोहमद सलाहले एक एक गोल गरे । एनफिल्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि खेलको ५३ औं मिनेटमा सलाहले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

खेलमा चेल्सीले पाएको मौका सदुपयोग गर्न सकेन । उसका इडेन हाजार्ड लगायतका खेलाडीले पटक पटक गोलको अवसरलाई सदुपयोग गर्न सकेन । जितसंगै म्यानचेस्टर सिटीलाई २ अंकले पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । र, लिभरपुलले लिगको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । लिभरपुलले ३४ खेलबाट ८५ अंक जोडेको छ । एक खेल कम खेलेको सिटिको ८३ अंक छ । पराजित चेल्सीको ६६ अंक छ । चेल्सी लिगको चौंथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search