पूर्वराजाको होटल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रशाहको लगानीमा खुलेको नेपालगन्ज स्थित सोल्टी होटलको उद्घाटन गर्ने भएका छन् ।

बाँकेको नेपालगन्जमा खुलेको होटल सोल्टी वेस्टेण्ड प्रिमियरको प्रधानमन्त्री ओलीले मंगलबार उद्घाटन गर्ने कार्यक्रम रहेको सोल्टी होटल व्यवस्थापनले जानकारी दिएको छ । एक समारोहका बिच प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने सोल्टी होटल व्यवस्थापनले निमन्त्रणा कार्ड समेत वितरण गरिसकेको छ ।

२०२२ मा तत्कालिन युवराज हिमालय शाहले सोल्टी होटल स्थापना गरेका थिए ।काठमाण्डौंमा होटल सोल्टी क्राउनप्लाजा सञ्चालन गरिरहेको सोल्टी होटल लिमिटेडकै लगानीमा नेपालगन्जमा उक्त होटल सञ्चालनमा आएको हो ।

‘सोल्टी वेस्टेन्ड प्रिमियर’ को नामबाट सञ्चालित उक्त होटलको स्वामित्व सोल्टी इन्टरप्राइजेज र एनई ग्रुपको संयुक्त कम्पनी सिबक्रिम होटल एण्ड रिसोर्ट प्रा.लि.मा रहेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका भुजई गाँउमा सन् २०१४ देखि निर्माण सुरु भएको उक्त होटलको नेपाली कम्पनी हिमालयन बिल्डर्सले भौतिक निर्माणको काम गरेको थियो ।

सोल्टी होटल लिमिटेडमा पूर्व राजा ज्ञानेन्द्रको लगानी रहेको छ । उक्त होटलले अहिले ५० कोठामात्र बिक्रीमा राखेको होटलका प्रबन्ध निर्देशक इन्द्र खड्का बताउँछन् । ८४ कोठा भएकोमा स्वीट रूमलाई घटाउँदा ८१ व्यवसायिक कोठा रहेका छन् ।

वातावरणीय अनुकुल हुनेगरी निर्माण गरिएको र क्लासिक डिजाइनको साजसज्जासहित नेपाली ब्राण्ड र सोल्टीको आफ्नै व्यवस्थापनमा सञ्चालन हुने प्रालीका अध्यक्ष दिनेशबहादुर विष्टले बताए ।

होटलका कोठामा एसीको ठाउँमा रेडियण्ड प्रविधि प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search