सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ- अर्थमन्त्री खतिवडा

चितवन । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन् ।

नेपाल सरकार, नेपाल उद्योग परिसङ्घ र चितवन उद्योग सङ्घले आज चितवनमा आयोजना गरेको प्रदेश नं ३ गण्डकी प्रदेश र प्रदेश नं ५ का उद्यमीबीच पूर्वबजेट छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्षमा ५५ प्रतिशत लगानी निजी क्षेत्रबाट आओस् भन्ने सरकारले चाहेको बताए ।

व्यवसायीले मै खाउँ मै लाउँ नभनी हामीले खाउँ हामीले लाऔँ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने बताउँदै उनले सरकार अनुदान दिने कुरामा भने धेरै लचिलो हुन नसक्ने बताए । उद्योगलाई अत्याधिक अनुदान दिने पक्षमा सरकार नरहेको बताउँदै उनले भने, “अनुदान दिनु भनेको कसै न कसैलाई कर लगाउनु हो, सरकार भनेको एक हातले अनुदान दिने हो, अर्को हातले कर लगाउने हो । सरकारसँगै स्रोतको सिर्जना केही पनि हुँदैन । तपाईंहरुको स्रोत हो, तपाईंहरुले नै प्राप्त गर्ने हो ।”

उद्योगी व्यवसायीका धेरै समस्या हल हुँदै गएको बताउँदै उहाँले कतिपय समाधान हुने दिशातर्फ अगाडि बढ्को बताए । उनले भने, “औद्योगिक वातावरण तयार हुने धेरै ऐन कानून बनिसकेका छन्, कतिपय बन्ने चरणमा छन् । केही समयपछि सबै समस्या समाधान हुनेछन् ।”

सरकारले औद्योगिक सुरक्षा बलको व्यवस्था गर्ने बताउँदै उनले त्यसमा केही भाग लागत सहभागिता निजी क्षेत्रको पनि हुनुपर्ने बताए । कतिपय जिल्लामा राज्यविरोधी र विध्वंसात्मक गतिविधि भइरहेको बताउँदै उनले विदेशी लगानीकर्तालाई तर्साउने खालका गतिविधि पनि भएको बताए । सरकार औद्योगिक सुरक्षा दिन तयार रहेको उनको भनाइ थियो ।

तयारी वस्तुभन्दा कच्चा पदार्थ आयातमा महङ्गो भन्सार शुल्क रहेको व्यवसायीको गुनासोलाई सम्बोधन गर्दै उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए ।

बैंकमा लगानीयोग्य रकमको अभाव रहेको बताउँदै उहाँले बैंकको ब्याजदर स्थिर बनाउन सरकार लागेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search