नागरिकता सम्बन्धि विवाद सुल्झाउन गठित संसदीय उपसमिति आफैं निस्क्रिय

काठमाडौं । संसदमा विचाराधीन रहेको नागरिकता विधेयकका बाँकी विवादहरु सुल्झाउन गठित संसदीय उपसमिति आफैं निस्क्रिय बनेको छ । १५ दिनको म्याद पाएको उपसमितिले एक महिना बित्न लाग्दा पनि ठोस प्रगति गरेको छैन ।

बैबाहिक अंगिकृत नागरिकताको विषयमा कुरा मिल्न नसकेपछि गत चैत ७ गते संसदको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सहमति खोज्न भन्दै ९ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिलाई नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सहमति जुटाएर १५ दिनभित्र मूल समितिमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो ।

यतिको समय वित्दासमेत ठोस प्रगति नभएको उपसमिति संयोजक बिजय सुब्बा बताउँछन् । नागरिकता विधेयकमा वैवाहिक अंगीकृत नागरिकतामा नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुष र नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई समान व्यवहार गर्ने कि नगर्ने भन्ने मुख्य विवाद छ । त्यस्तै खारेजी भएको नागरिकता प्रचलनमा ल्याए कति सजाय गर्ने भन्ने विषयमा पनि विवाद छ ।

यी विषयमा सहमति जुटाएर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको उपसमितिको नियमित बैठक नै बस्न सकिरहेको छैन । हालसम्म उपसमितिका औपचारिक दुई वटा मात्र बैठक बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search