शनिबार, जेष्ठ ११, २०७६

नेपाली हकिङ : जसको शरीर चल्दैन, टाउकोबाट संसार चलिरहेको छ



उनकी ७८ वर्षीया आमा भेट्न आइरहन्छिन् । छोरो देख्नेबित्तिकै आमा रुन थाल्छिन् । उनको रुवाइ रोक्न कृष्ण हसाउन थाल्छन्, ‘नरुनु के आमा, शरीर नचले के भो र, म बुहारी ल्याउँछु !’

‘मैले सक्ने भनेकै बोल्ने हो । त्यो यदि बोल्न सक्छु भने अरूका लागि किन नबोल्ने ?’ नौ वर्षदेखि इलेक्ट्रिक ह्विलचेयरमा बसिरहेका पाल्पाका ३१ वर्षीय कृष्ण खड्काको भनाइ हो यो । ह्विलचेयरमै बसेर उनी पाँच वर्षदेखि ट्याब चलाउँदै आएका छन् । तर, हातले होइन । खुट्टाले पनि होइन । घाँटीभन्दा मुनिको कुनै पनि अंग चल्दैन । तापनि, उनी ट्याब चलाउँछन् । त्यो हो, टाउकोले ।

टाउकोमा हेलमेट छ । त्यसबाट निकालिएको तार स्ट्रानबले ट्याबको स्क्रिनलाई छुन्छन् । तब गुगल खुल्छ । ‘कृष्णनेपाल डटकम’ खोलेर पेज देखाउँछन् । त्यो पेज बनाएको तीन महिना भयो । त्यति मात्र होइन, उनले फेसबुक चलाउन थालेको चार वर्ष भयो । भन्छन्, ‘अहिले १२ सय साथी छन् ।’
ह्विलचेयरमै जोडिदिएका छन्, ट्याब । अनि, उनी आफ्नो टाउकोलाई दाया–बायाँ हल्लाउँदै भन्छन्, ‘सुरुआती चरणमा एच, आई हाई लेख्न चार घण्टासम्म लागेको थियो । अहिले बानी प¥यो ।’ उनी टाउकोले राम्रो टाइप गर्ने भइसके । एकैपटक बिसौं साथीसँग उनी गफिन्छन् । शारीरिक रूपमा उनलाई वैज्ञानिक स्टेफेन हकिङसँग पनि तुलना गर्न सकिन्छ ।
०००
सन् २०११ तिर खगेन्द्र नवजीवन गृहमा कृष्णले भेटेका थिए नेदरल्यान्डका माइकल म्याकबोनलाई । आठ वर्षअघि कृष्णको शरीरको कुनै पनि अंग चल्दैनथ्यो । घाँटीभन्दा मुनि अझै चल्दैन । संयोगले उनले माइकल भेटे ।
लामो समयदेखि कोठाको एक बेडमा कुजिएका थिए । घाउखटिराले ग्रस्त थिए । महिनाको ६ हजार तिरेर नवजीवन गृहमा जीवनसँग संघर्ष गरेका थिए । बाहिरी संसार हेर्न छटपटाइरहेका थिए । त्यस्तो अवस्थामा माइकलले सल्लाह दिए । ट्याबसमेत उपलब्ध गराए । त्यसपछि कृष्णको संसार फराकिलो भयो । भन्छन्, ‘माइकल मेरा लागि फराकिलो संसार हो ।’ यति भन्दै उनले फेसबुकको प्रोफाइल देखाए । जहाँ माइकलसहितको फेसबुक प्रोफाइल फोटो थियो ।
टाउकोले ट्याब चलाउँछन् र चिउडोले इलेक्ट्रिक ह्विलचेयर । र, आफूले जान चाहेको ठाउँमा उनी निस्कन्छन् । ‘अघिल्लो वर्ष पाल्पा गएर आएँ’, ह्विचेयरलाई चिउँडोले घुमाउँदै उनी भन्छन् ।

नेपाली युवा वैदेशिक रोजगारीकै चक्करमा छन् । यस्तै एक युवा थिए कृष्ण । उनले मलेसियामा हाउसकिपिङ काममा चार वर्ष बिताउँदै गर्दा वज्रपात प¥यो । काममा जानुअघि र फर्किएपछि उनी दैनिक एक्ससाइज गर्थे । उनले एक दिन टाउकोले भुइँ टेकेर खुट्टा आकाशतिर फर्काए । अचानक चिप्लिए । भन्छन्, ‘म दैनिक डकस्ल योग गर्थें, अचानक लडेर मेरुदण्डको सी फोर सी अथवा स्पाइनल कर्ड गएपछि चल्ताफिर्ता जिन्दगी यस्तो भयो ।’
सामान्य एक्ससाइजबाट दुर्घटना भोग्नुपरेको कृष्ण मलेसियामा तीन महिना कोमामा बसे । चार महिना आईसीयूमा । १० महिना भेन्टिलेटरमा बस्नुप¥यो । भन्छन्, ‘डेढ वर्षपछि म नेपाल आएँ ।’
दाइको सहारामा नेपाल आएर उनी मनमोहन अस्पताल सोह्रखुट्टेमा बसे । त्यसपछि लुम्बिनी मेडिकल पाल्पा पुगे । तर, कतै निको नभएपछि उनी नवजीवन जोरपाटी आएका थिए । त्यहाँ पनि दैनिक ६ हजार तिरेर बस्नुपरेको थियो । अहिले तिर्नुपरेको छैन ।
०००
‘घाँटीभन्दा मुन्तिर काटेर लगे पनि थाहा हुँदैन’, उनी भन्छन् ।
उनी हसिला छन् । बिरामीजस्ता लाग्दैनन् । दुखेको थाहा भए त पीडा हुने हो । भोक लागे त आत्तिने हो । तर, उनलाई भोक लागेको थाहा हँुदैन । दिसापिसाब गरेको थाहा हँुदैन । शरीरका अन्य भाग नचलिरहँदा पनि मस्त ‘लाइफ’ देख्ने कृष्ण भन्छन्, ‘लाइफ इज ब्युटिफुल ।’
खगेन्द्र नवजीवन गृहको ७ नम्बर कोठामा आठ वर्षदेखि बस्दै आएका कृष्णको शरीरलाई मुसाले पनि टोक्छन् । तर, उनी थाहा पाउँदैनन् । सहयोगीले खुट्टाको घाउ देखाएर भनेपछि थाहा पाएका छन् ।
भोकाएँ खाना ल्याऊ भन्नुपर्दैन । सहयोगीले दिए खान्छन् । विशेष उनी कफी पिउँछन् । अरू आठ–आठ घन्टामा खाइरहन्छन् । उनी ४८ घण्टासम्म नखाँदा पनि केही नभएको बताउँछन्, ‘भोक लागेको थाहा हुँदैन तर निधारमा पसिना चिटचिट आउने, अप्ठयारो फिल हुने गर्छ ।’ उनको घाँटीमा घाउ छ । त्यो देखाउँदै उनी भन्छन्, ‘घाटीमा प्वाल पारेर अक्सिजन दिन्थे । खकारहरू यहीबाट आउँथ्यो ।’

आफूजस्तै साथीहरूका लागि उनी सहयोगी हात भएका छन् । फेसबुकमा भेटिने साथीलाई उनी कन्भिन्स गर्छन् । आफ्ना समस्या राख्छन् । अनि मनकारी आएर सहयोग गर्छन् । तीन महिनायता १० वटा ह्विलचेयर सहयोग पाए । उनीजस्तै साथीहरू खुसी छन् । भन्छन्, ‘देशविदेशमा रहेका साथीहरूलाई अनुरोध गर्छु । सहयोग पाएका छौं ।’
उनले हात चल्ने साथीहरूका लागि रोजगारी सिर्जना गरेका छन् । आफ्ना साथीलाई माला बुन्न प्रोत्साहन गर्छन् । ६ महिनादेखि हात हुने आठ जनाले माला बुन्दै आएका छन् । भन्छन्, ‘जेब खर्च घरबाट माग्न नपरोस् भनेर साथीहरूलाई माला बुन्न अनुरोध गरेको हुँ ।’
उनी माला बनाउने मात्र होइन, आगन्तुकलाई किनिदिन अनुरोध गर्छन् । त्यसै सहयोग गर्नुभन्दा सामान किनेर सहयोग गर्दिनुस् भन्न सहज रहेको उनी बताउँछन् । ‘माला किनेर सहयोग गरिदिए हाम्रो हौसला पनि बढ्छ’, उनी भन्छन्, ‘सित्तैमा सहयोग मागेजस्तो पनि हुँदैन ।’
यहाँ बस्नेलाई चाहिने डाइपर, सोलार, शौचालय निर्माणका लागि ७ लाख बजेट संघसंस्था तथा व्यक्तिसँग माग गरेका छन । उनी भन्छन्, ‘अब आफूजस्ता साथीहरूका लागि बोल्न पाए हुन्थ्यो ।’
उनी सुत्ने बेडको सिरानमा छ गुगल असिस्टेन्ट । उनी बोलेका भरमा गुगलले जवाफ दिन्छ । उनी टीभी खोल्छन् र हेर्छन् टिकटक । ७ नम्बर कोठा उनको लागि संसार भएको छ । कहिलेकाहीं उनी युट्युबमा नयाँ–नयाँ गीत हेर्छन् । नेताहरूका भाषण सुन्छन् । राज्य र नेताहरुकाबारे साथी सर्कलमा गफिन्छन् ।
०००
जिन्दगीलाई संघर्षको पर्याय दिन चाहने कृष्ण भन्छन्, ‘हिम्मत हारेर होइन, हिम्मत बटुलेर बाँच्ने हो ।’ उनको बोली मिजासिलो छ । नेपाली, अंग्रेजी दुवै भाषा जादन्छन् । घर नगएको सात वर्ष भयो । तर, उनकी ७८ वर्षीया आमा भेट्न आइरहन्छिन् । छोरो देख्नेबित्तिकै आमा रुन थाल्छिन् । उनको रुवाइ रोक्न कृष्ण हसाउन थाल्छन्, ‘नरुनु आमा, म बुहारी ल्याउँछु के !’ यसरी पनि हसाएको उनी सुनाउँछन् ।
आमालाई हसाउन उनी जोक सुनाउँछन् । भर्खरै बुहारी ल्याइदिउँलाझै गर्छन् । तर, दिमागमा विवाहको कुरा चल्दैन । कहिलेकाहीं साथी–साथीमा बिहेका कुरा पनि चल्छ । भन्छन्, ‘दिमाग टाउकोमा छ तर मन छैन कि भन्नेझैं लाग्छ ।’ मन, मुटु नभएको भए उनले यत्तिको सहयोगी कहाँ बनिरहन्थे होलान र ?
प्रस्तुतिः आरके जी

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology