सोमवार, असार २, २०७६

सिलौटो बनाउँदैमा गयो उमेर



उनी मासिक २० हजारदेखि २५ हजारसम्म कमाउँछिन् । त्यही पैसाले घरभाडा, दुई बच्चाको पढाइ खर्च पुर्याउँछिन् । घरायसी सरसामान र लत्ताकपडा जोरजाम गर्छिन् ।

काठमाडौंको चावहिल चोकबाट गोपीकृष्णतिर जाँदा ५० मिटर पर बायाँतिर सिलौटाका पसल छन् । ती पसलछेउ छिनोले ढुंगा खोपिरहेकी राधिका कुसवाडिया आउनेजानेतिर हेरेर सोध्छिन्, ‘सिलौटो लिने हो सर ?’

३० वर्षअघि चावहिल–गोपीकृष्ण जानेआउने सडक रित्तो थियो । बाटो गोरेटो थियो । गाडी आउजाउ कम हुन्थ्यो । ‘३० वर्षदेखि यसकै साक्षी हुँ’, राधिका भन्छिन्, ‘यहाँ ढुंगा खोपेर सिलौटो बनाउँदैमा उमेर गयो ।’

दायाँतिरको ढुंगेधारा उस्तै छ । त्यही धारामा भिजेर छेउछाउका झाडीमा लुकामारी खेल्थिन् । पातलो गुड्ने गाडी छलेर पारिको ढुंगा पसल पुग्थिन् । हिजोआज उनी सडक वारपार गर्न डराउँछिन् । भन्छिन्, ‘धेरै गाडी भए, बाटो काट्नै सकिन्न ।’

झाडी मासिए । गगनचुम्बी घर बने । बाटो बन्यो । कालोपत्रे भयो । तर, न उनको जीवन फेरियो न त ढुंगा नै । निरन्तर सडकछेउ ढुंगा खोपिरहेकी भेटिन्छन् उनी– ठक, ठक, ठक ।

चाबहिल रिङरोडमा सिलौटो बनाउँदा–बनाउँदै बूढी भइन् उनी । आँखाको दृष्टि पनि धमिलियो । तर, ५५ वर्षीया राधिका सिलौटो बेचेर छाक पुर्याइरहेकी छन् ।

हातमा झुम्रो बाँधिएको छ । हातलाई हम्मरले किचेको रहेछ । ढुंगा खोप्ने छिनोले कहिलेकाहीं हातलाई पनि चोइट्याउँछ । तर, उनको सिलौटो खोप्ने क्रम कत्ति भंग हँुदैन । भन्छिन्, ‘छिनोले हात चोइटाउने बानी पर्यो ।’

उनले पढ्न सकिनन् । बाउबाजेको पेसा अँगालिन् । बचपन ढुंगा खेलेर गयो । बूढेसकाल ढुंगा खोपेर जाँदै छ । ‘पुख्र्यौली काम हो गर्नै पर्यो’, उनी भन्छिन् ।
०००
भुइँका सिलौटा सजाएर राखिएका छन् । उनी एउटा ढुंगालाई छिनोले ठुँगिरहेकी छन् । सडकको धुलो र ढुंगाको धुलोको परवाह छैन । उनी बाँचेको परिवेश फेरियो तर फेरिएको छैन उनको जीवन पद्धति । सिलौटोकै सहारामा दुई छोरालाई पढाएकी छन् । मासिक ८ हजार भाडा तिरेकी छन् । भन्छिन्, ‘जीवनको गुजारा चलिरहेको छ ।’

बुटवल देवीनगर स्थायी घर भएकी राधिकाले पहिला आफैं खानीबाट ढुंगा ल्याउँथिन् । त्यर, त्यस ठाउँमा ढुंगा काट्न दिन छाड्यो । उनले १० वर्षदेखि ठेकेदारसँग ढुंगा किन्ने गर्छिन् । २ देखि ४ सय रुपैयाँसम्ममा किनेर सिलौटो, ओखल बनाउँछिन् । नमिलेको ढुंगालाई छिनोको धारले काटेर आकर्षक बनाउँछिन् । कोइलाले पोत्छिन् । बुट्टा भर्छिन् । बेच्नका लागि राख्छिन् ।

‘यत्तिका मेहनत गरिन्छ । तर, कसैले राम्रो दाम दिन मान्दैनन्’, सिलौटो देखाउँदै उनी भन्छिन् ।

उनी मासिक २० हजारदेखि २५ हजारसम्म कमाउँछिन् । त्यही पैसाले घरभाडा, दुई बच्चाको पढाइ खर्च पुर्याउँछिन् । घरायसी सरसामान र लत्ताकपडा जोरजाम गर्छिन् । ‘ढुंगा उचाल्न पहिलेजस्तो तागत छैन’, सानो सिलौटो उचाल्दा स्याँस्याँ हुँदै उनी भन्छिन् ।
०००
छोरोले पढेर जागिर खाओस् भन्ने छ । भन्छिन्, ‘भरोसा यिनै छोराहरूको छ । ढुंगाको भरोसा मसला पिस्ने मेसिनले खोसिदियो ।’

धेरै उपभोगका सामान मेसिन हुन थाले । ती सहज र छिटो हुन्छन् । त्यस्ता मेसिनले पुख्र्योली पेसालाई विस्थापन गर्दै छ । रोजीरोटी खोसिने सम्भावना पनि उस्तै छ । ‘मेसिनले त पेसा खोस्यो खोस्यो, घरीघरी ट्राफिक पुलिस आएर खेदाउँछन् ।’ जाम हटाउन आएको ट्राफिकले बजाएको सिटीतिर उनको ध्यान जान्छ । उनी चनाखो हुँदै हतारहतार सिलौटा लुकाउन थाल्छिन् ।
प्रस्तुति: आरके जी

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology