आइतवार, भदौ ८, २०७६

‘दैया तिमी सृष्टि हौ शिवलिङ्ग पोल’

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६



    • कवि-निभा शाह

    दैया

    हजारौं-हजार वर्ष बिते
    दैयाहरू देवतासँग डराएको ।

    मेरो दैया
    देवतासँग डराएर
    बाटामा देखेका ढुंगा जति
    सबैलाई ढोग्दै हिँड्छिन्
    र भन्छिन्,
    सिलौटो पखाल, सिलौटो
    सिलौटोलाई खोर्सानीले पोल्छ
    सिलौटोलाई खोर्सानीले पोले
    देउता रिसाउँछन् नानी देउता
    सिलौटा र देवता
    एउटै गर्भाशयबाट आएका
    तँ र तेरो दिदी जसरी नै !!

    यसो भन्ने मेरो दैयाले
    कहिल्यै यसो भनिनन्
    नानी, मेरो दिदी सती गएकी
    मेरो दिदीलाई
    आगोले कत्ति पोल्यो होला है ?
    अहँ, मेरो दैयाले कहिल्यै यसो भनिनन्
    बरु मेरो दैया
    दिन-दिनै सतीदेवीको मन्दिर गएर
    सतीदेवी पोल्छिन्
    देवताछाप अगरबत्तीले
    ताकि देवता नरिसाउन् ।

    देवतासँग साह्रै डराउने
    मेरो दैयाका मुखभित्र
    एकदिन मनुस्मृति पसेछ
    मेरो दैया बर्बराउन थालिन्
    सिलौटो पखाल, सिलौटो
    सिलौटोलाई खोर्सानीले पोल्छ
    सिलौटोलाई खोर्सानीले पोले
    डोम र आइमाईको जात हाँस्छ
    डोम र आइमाईको जात हाँसे
    देवता रिसाउँछन्, देवता।

    मैले भने
    यो के भनेको दैया ?
    दैया झन्झ-न् बर्बराउन थालिन्
    तँ पनि
    दुईचार वटा छोरी पाएस्
    ती छोरीहरूलाई पोलेर खाएस्
    जसरी मैले मेरा छोरीहरूलाई
    दहेजको नाममा
    प्रेमको नाममा
    जातिको नाममा
    पोलेर खाएँ
    तँ पनि मजस्तै दैया भएस्
    छोरी पोलेर खाएस् ।

    छोरीको जात नपोले
    देउताको जात रिसाउँछ नानी
    देउताको जात रिसायो भने
    गर्भभित्र शनिश्चर पस्छ
    शनिश्चर पसेको गर्भले
    छोरा जन्माउँदैन नानी
    छोरा नजन्माउने गर्भले
    यो जुनी न त्यो जुनी
    कहिल्यै पार पाउँदैन नानी।

    मेरो दैयाले यसो भनिरहँदा
    पर‘। खलियानमा
    मेरो माई डाँको छोड्दै रून थालिन्
    दैया रे दैया
    हमार बेटी धनियाक मेहमान
    दहेज आग में
    धनिया मार देलक !

    यति सुनेपछि
    मेरो विवेक जागराम भयो
    मैले सिलौटो उठाएर
    शिवलिङ्गमा बजार्दै भने,
    दैया देवताहरू
    सधैँ आइमाई पोलेर खान्छन्
    आइमाईको जात पोलेर खान्छन्
    र बिर्सिन्छन्
    आफूले टेक्दै गरेको यो धर्ती
    तिमी कसको गर्भाशयमा बुर्कुसी खेलेर टेक्यौ रुरु

    दैया, शिवलिङ्ग बोकेका यी देवताहरु
    कसको प्रसव पीडाले यो धर्ती छुन्छन्
    कसको स्तनपानले यो आकाश छुन्छन्
    र भन्छन्
    पार्वती !
    म शिव हुँ
    मेरो शिवलिङ्गको पूजा गर !!

    दैया यी आइमाईका स्वामीहरुले
    करोडौँ करोड सीता पोले
    कुनै रामले भनेन
    कौशल्या तिमी मेरो सृष्टि हौ भनेर ।।

    दैया
    इतिहासको त्यो किनारादेखि
    इतिहासको यो किनारासम्म
    कुनै पनि रामले
    कुनै पनि आइमाईको
    हृदयलाई
    न छुन सक्यो
    न हृदयको दैलो
    उघारेर हेर्न सक्यो।

    दैया,
    कुनै पनि रामले
    न कृष्ण, न अर्जुन, न यायती, न गालव,
    न विश्वामित्र
    कुनै पनि रामले
    कुनै पनि आइमाईको
    हृदयको आगोको ज्वाला बुझ्नै सकेन दैया
    त्यसैले त दैया
    अब आइमाईहरूले
    देवता पोलेर खानुपर्छ
    जसरी देवताहरू
    आइमाई पोलेर खान्छन्
    हो, ठीक त्यसरी नै
    आइमाईले
    देवता पोलेर खानुपर्छ

    उठ दैया उठ
    मेरो दैया
    जीवनमा पहिलोचोटि अगुल्टो लिएर उठिन्
    मैले भने, दैया
    शिवलिङ्ग दुई फ्याक भयो !
    मेरो दैया जीवनमा पहिलोचोटि
    घुम्टो फुकालेर हाँसिन्
    मैले भनें, दैया
    सिलौटो चार फ्याक भयो !
    मेरो दैया जीवनमा पहिलोचोटि
    आकाश हेरेर हाँसिन्

    मैले भने, दैया,
    देवताबिनाको संसारमा मान्छे
    कति उन्मुक्त भएर हाँस्छ ?
    देवताबिनाको संसारमा मान्छे
    कति उन्मुक्त भएर बाँच्छ ?

    दैया तिमी पनि
    देवताबिनाको संसारमा
    उन्मुक्त भएर बाँच
    लालपुर्जाले जन्माएका सांग्लाहरू
    चुँडालेर बाँच
    दैया तिमी सृष्टि हौ
    देवता पोलेर बाँच

    दैया तिमी सृष्टि हौ
    शिवलिङ्ग पोल !!

    दैया तिमी सृष्टि हौ
    देउताको जात पोल !!

    नोटः
    मैथिली भाषाका शब्दको अर्थस्
    दैया-हजुरआमा
    मेहमान-ज्वाइँ
    माई-आमा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology