सोमवार, असार २, २०७६

‘अबको लडाइँ दलाल पुँजीवादसँग हो’



माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा गठन भएको एक वर्ष पूरा भइसकेको छ । नेकपाले पुँजीवादी क्रान्ति पूरा भएको निष्कर्ष निकाल्दै अब समाजवादी क्रान्तिको बाटोमा पार्टीलाई अगाडि बढाउने भन्दै आएको छ । पूर्वमाओवादी केन्द्रको एकाइसौं शताब्दीको जनवाद र पूर्वएमालेको जनताको बहुदलीय जनवाद दुवै जनवादी क्रान्तिको कार्यदिशा थिए । अबको समाजवादी क्रान्तिको कार्यदिशा के हो भन्नेबारे ठूलै बहस छ । यही विषयमा नेकपा नेता (प्रस्तावित पोलिटब्युरो सदस्य) कुमार पौडेलसँग एसकाठमान्डुका राजकुमार श्रेष्ठले गरेको कुराकानी ।

पार्टी एकतापछि नेकपाको सांगठनिक संरचनाको टुंगो लाग्दै गएको छ । सैद्धान्तिक पक्षचाहिँ कतै छुटेजस्तो देखिन्छ । नेकपाले सैद्धान्तिक पाटोलाई के आवश्यक नठानेको हो ?

नेपालको कम्युनिस्ट आन्दोलनका दुई धारा एमाले र माओवादीबीच एकता आवश्यक थियो । केन्द्र, जिल्ला, प्रदेश कमिटी बनाउँदासम्म एकता प्रक्रिया पूरा भएको छ । अन्य केही प्रक्रिया बाँकी छन् । त्यो छिट्टै पूरा हुन्छ भन्ने लाग्छ । तर, मुख्य त कम्युनिस्ट पार्टीका लागि वैचारिक पक्ष प्रधान हुन्छ । सांगठनिक पक्ष अन्तरसम्बन्धित विषय हो । प्रारम्भमा सांगठनिक पक्ष टुंग्याएर वैचारिक बहसको टुंगो लगाउने भन्ने छ । त्यसमा पनि माओवादको प्रश्नमा, जबजको प्रश्नमा एक खालको सहमति भएकै छ । तत्काल जनताको जनवादलाई मानेर समाजवादको बाटोमा जाने भन्ने सहमति पनि छ । यी डकुमेन्ट बाहिर आएका छैनन् ।

तत्कालीन एमालेले अँगीकार गरेको जनताको बहुदलीय जनवादलाई अब नेकपाले अघि नबढाउने हो ?

दुवै पार्टीले अँगीकार गर्दै आएका पुराना वैचारिक मार्गदर्शनको विकल्पमा नयाँ सैद्धान्तिक मान्यता बनेको छ । त्योभन्दा दायाँ–बायाँ गर्न मिल्दैन । रणनीतिक रुपमा सायद दुवै धाराको अगाडि जाने बाटोमा कुनै अन्योल छैन । जे सहमति गरियो त्यसको विपक्षमा बहस गर्न थालियो भने त्यसले पार्टी एकतालाई कमजोर बनाउँछ ।

पार्टीको एकता महाधिवेशनमा गएर मात्रै त्यो बहसको प्रारम्भ हुन्छ । कुनै एक पार्टी अर्कोमा विलीन हुने होइन । फरक धारा एक ठाउँमा ल्याउँदा वैचारिक राजनीतिक विषय पूरा गर्न केही समय त लाग्छ नै । त्यसैले हामीले सांगठनिक काम पूरा गरेका छौं । वैचारिक प्रक्रिया मूलभूत रूपमा जनताको जनवादलाई कार्यान्वयन गर्ने सहमति भइसकेको कुरा हो । जहाँसम्म विचारधारा विकासको सवाल छ त्यो परिस्थितिअनुसार विकास गर्दै लैजाने हो । पूर्वमाओवादीले माओवादलाई स्थापित गरेको छ, पूर्वएमालेले जबजलाई । त्यही मान्यताको बीचबाट अघि बढ्ने हो ।

दुवै पार्टीको आफ्नै खालको संघर्ष थियो । दुवै पार्टी आआफ्ना मान्यता र विचारधारा बोकेर आएका छन् । दुवैको आफ्नै इतिहास छ । विगतका अनुभव, आजको विश्व परिवेश, विश्व कम्युनिस्ट आन्दोलनमा देखापरेको कतिपय उतारचढावलगायत परिघटनाबाट शिक्षा लिँदै समाजवादतिर बढ्नुपर्ने देखिन्छ । त्यो गर्न सक्नु पनि पर्छ । समस्या छ, त्यसलाई सल्टाउँदै जानुपर्नेछ । सिद्धान्तको विकास गर्दै जानुपर्छ । नेताहरूले एक चरणको समस्या हल गर्नु पनि भएको छ । त्यसका लागि उहाँहरू धन्यवादका पात्र हुनुहुन्छ ।

जहाँसम्म केही नेताले जबजको विषयमा पनि बहस गरिरहनुभएको छ । एउटा इतिहास गुजारेर आएका दुई फरक–फरक घटकबीचको एकता हुँदा आफ्नो स्वत्वबारे बहस हुनु स्वाभाविकै हो । तर, मूलतः पार्टीका मूल नेतृत्व बसेर जे सैद्धान्तिक सहमति गर्नुभएको छ त्यो नै पार्टीको मुख्य कार्यनीति हो ।

जनवादी क्रान्तिको फेरो समातेर समाजवादको यात्रा तय गर्दा तालमेल मिल्छ र ?

तत्कालीन माओवादीको हेटौंडा महाधिवेशनले पुरानो पँुजीवादी जनवादी क्रान्ति सम्पन्न गरेको भन्दै अब समाजवादी क्रान्तिको बाटोमा जाने निष्कर्ष निकालेको थियो । एमालेले पनि नवौं महाधिवेशनबाट समाजवादको बाटो समातिसकेको छ । अब बहसको मुख्य चुरो कार्यान्वयन हो । कुन कार्यदिशा लिँदा समाजवादको लक्ष्य पूरा गर्न सकिन्छ भन्ने हो । उत्पादक शक्तिको विकास आवश्यक छ । समृद्धिको दिशामा देश अगाडि नबढेसम्म समाजवादको लक्ष्य प्राप्त गर्न सकिन्न । त्यो लक्ष्य प्राप्त गर्ने हो भने दुई पार्टीबीच हिजो जे सहमति भएको छ त्यसलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नुपर्नेछ । त्यसैले २१ औं शताब्दीको जनवादमा पार्टी, सेना र सत्ता जनताको निगरानी, नियन्त्रण र अनुगमनमा हुनुपर्छ । नेतृत्व रोटेसनमा हुनुपर्छ भन्ने थियो । लोकतन्त्र, सामाजिक न्याय, मानवअधिकार जनताको बहुदलीय जनवादको थिम थियो । त्यसैले जबज र २१ औं शताब्दीको जनवादको अन्तर्वस्तु एउटै छ । अब पार्टी एकतालाई सुुदृढ गर्न कस्ता वैज्ञानिक प्रणाली अपनाउनुपर्छ ? त्यसलाई ध्यान दिन आवश्कता छ । समस्याको हल नयाँ दिशाबाट खोज्नुपर्छ । पुरानो ठाउँमा बसेर समाजवादको लक्ष्य पूरा हुँदैन भन्ने छर्लङ छ ।

भारतको लोकसभा चुनावमा कम्युनिस्टहरू कसरी बढारिए ? यसबाट पनि पाठ सिक्नुपर्छ । संसारमा आज कम्युनिस्टहरू कमजोर बन्दै गएका छन् । किन त ? यो बहसबाट भाग्न कुनै कम्युनिस्टलाई छुट छैन । कुन कार्यदिशा अपनाउँदा हामीले नेपालको समाजवादी आन्दोलनलाई विजयको दिशातर्फ लैजान सक्छौं ? त्यतातर्फ बहस केन्द्रित हुनुपर्छ । पुरानो विचारमा टाँसिरहेर कहीं पुगिँदैन ।

विचारको विकास हुन्छ । माक्र्सवादको पनि विकास हुन्छ । माक्र्सवाद धर्मशास्त्र होइन । माक्र्सले अगाडि सार्नुभएको राजनीतिक प्रस्तावनामा लेनिन अडिनुभएन । संसारभरि सफल भएका क्रान्ति आफ्नो देशको ठोस परिस्थितिअनुरूप विकास गरिएका थिए । क्रान्तिको नक्कल गरेर हुँदैन । वैचारिक शृंखला आयातित हुँदैनन् । विश्व सूचना भूमण्डलीकरणका कारण ग्लोबल भिलेजमा परिणत भएको छ । यी कुरालाई संश्लेषण गरेर मात्रै नयाँ समाजवादको यात्रामा अगाडि बढ्न सकिन्छ । पुरानो ठाउँबाट सोचेर नेकपाले देखेको समाजवादको लक्ष्य पूरा हुँदैन ।

नेपालको सन्दर्भमा समाजवादी क्रान्तिको सम्भावना घटेको देख्नुहुन्छ कि बढेको ?

९० को दशकमा युगको अन्त्य, समाजवादको अन्त्य, माक्र्सवादको अन्त्य भनेर उद्घोष गरिएको थियो । तर, नवउदारवाद असफल भएपछि पश्चिमा मुलुकका नवउदारवादीले नै समाजवादको औचित्य समाप्त भएको छैन भनेर पुष्टि गरेका छन् । हिजोको औद्योगिक क्रान्तिको पुँजीवाद र आजको पुँजीवादमा अन्तर छ । पुँजीवाद आफैं पुरानो स्वरूपमा टिक्न नसकेर आफूलाई फेर्दै आएको छ । त्यसकारण कुरा के हो भने हामी माक्र्सवादसँग टाँसिरहने हो कि विकास गर्ने हो ? आजको बहस यो हो । पुरानै कुरा समातेर बस्ने हो भने असफल हुन्छौं । माक्र्सवादको विकास गरेर जाने हो भने समाजवादको सम्भावना बढेको छ ।

पार्टीको नीतिचाहिँ समाजवाद उन्मुख छ । तर, सरकारको गतिविधि भने भ्रष्टाचर उन्मुख देखिन्छ । कसरी तालमेल मिल्छ त ?
गत सालको बजेटप्रति जनताको धेरै टिप्पणी थियो । बजेट धेरैले नवउदारवादी कोणबाट त आएन भन्ने कुरा पनि आएको थियो । बजेटले निर्धारण गरेअनुसार खर्च हुन सकेन । चुनावी घोषणापत्रमा भनिएजस्तो जनताप्रति त्यसको प्रभाव पर्न सकेन । तर, अहिलेको बजेट वितरणमुखी भए पनि पहिलेभन्दा केही सकारात्मक छ । जनमुखी छ । शिक्षा, स्वास्थ्य, सञ्चार र कृषि क्षेत्र बजेटको कम प्राथमिकतामा त परेका छन् तर पहिलाभन्दा राम्रो छ । अर्को सालसम्म जाँदा योभन्दा परिणाममुखी बजेट आउला भन्ने लाग्छ ।

जहाँसम्म समाजवादको दिशामा जाने सवाल छ, त्यसमा पार्टीले कस्तो कार्यनीति लिन्छ भन्ने मुख्य हो । अहिलेको प्रणाली भनेको नेकपाले कस्तो कार्यदिशा अपनाउने भन्नेमा भर पर्छ । समाजवादको दिशातिर जाँदा कस्तो रणनीति अपनाउने भन्नेमा चासो राख्नुपर्यो । हाम्रो राष्ट्रिय दुस्मन को हो ? अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो छ ? यस्ता कुरामा चासो राख्नुपर्यो ।

अबको लडाइँ नवउदारवाद र दलाल पुँजीवादसँग हो । नेकपाले यो अन्तर्विरोधलाई पहिचान गर्न सक्यो भने समाजवादी क्रान्तिको अभिभारा पूरा गर्न सक्छौं । यो अन्तर्विरोधलाई ठीक ढंगले चिन्न सक्नुपर्छ । अन्तर्राष्ट्रिय तालमेल पनि मिलाउएर जानुपर्छ ।
अर्को कुरा हामी सधैं भिखमग्ना भएर बसिरहेका छौं । नेपालले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकेको छैन । समाजवादको दिशामा अगाडि बढ्न अत्मनिर्भर अर्थतन्त्र अनिवार्य हुन्छ । नेपालले आफ्नो स्रोतसाधनलाई प्रयोग गर्दै जानुपर्छ । नयाँ प्रविधिको विकास गर्दै जानुपर्छ । दक्ष जनशक्ति निर्माण गर्दै जान सकियो भने वैज्ञानिक समाजवाद आउन सक्छ । औद्योगिक, कृषि, पर्यटन र हाइड्रोपावरमा लगानी गर्नुपर्यो । नागरिकलाई प्राविधिक शिक्षा दिनुपर्छ । तर, हामी अरुमा निर्भर छौं । बजेट वैज्ञानिक र प्राविधिक जनशक्ति उत्पादन गर्ने कुरामा खर्च गर्न सकिरहेको छ । समाजवादको सपना बाँडेर मात्र हुँदैन, व्यवहारमा पनि त्यो देखिनुपर्छ । यही कारण जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो हुन गएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले सहमतिभन्दा दायाँबायाँ भयो भने एकता भाँडिन सक्छ भन्नुभएको छ । खास कुरा के हो ?

पार्टी एकता हुँदा जुन सहमति भएको छ त्यहीअनुसार अगाडि बढ्ने हो । सहमति उल्लंघन गर्ने कुरा पनि भएन । त्यसले पार्टीभित्र असर पर्छ । दुवै अध्यक्ष सहमतिअनुसार जानुहुनेछ । पार्टी नेतृत्वमा रहेकाहरूलाई असर नपरोस्, जिम्मेवारी बाँडियोस् भन्ने हो । निर्णय प्रक्रियामा जान नसक्नु राम्रो होइन । पार्टीलाई जनतासम्म लानुपर्छ । धेरै जिम्मेवारी एक जनालाई भए काममा ढिलासुस्ती हुन्छ । त्यसो नहोस् भन्ने कुरा हो । हामीले समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यले बढीभन्दा बढी ऐक्यबद्धता गर्नुभएको छ । उहाँहरुकै चाहनाअनुसार नै पार्टी एक भएको हो । यो सफल पनि हुन्छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology