आइतवार, भदौ १, २०७६

गुलाम अलीले राजा महेन्द्रका गीत माग्दा संकटमा परें : संगीतकार दीपक जंगम

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६



  • प्रसिद्ध गायक गुलाम अली २०४१ सालतिर काठमाडौं आएका थिए । संगीतकार दीपक जंगमको संगीतमा मवीवि शाहका चार गीत गाएर उनी फर्किए । त्यस बेला महेन्द्रका गीत सेन्सर हुन्नथ्यो भने चाँदनी शाहका गीत सेन्सरमा पथ्र्यो । ‘लोलाएका ती तिम्रा’, ‘किन–किन तिम्रो तस्बिर’, ‘गाँजलु ती ठूला–ठूला आँखा’ र ‘के छ र दिऊँ तिमीलाई’ बोलका गीत २०४२ वैशाख १ गतेदेखि गीत प्रसारण भए । यी गीत बडो रुचाइए, अझै उसरी नै रुचाइन्छन् । तर, यी गीत कसरी जन्मिए भन्ने कमैलाई मात्र जानकारी हुन सक्छ । संगीतकार जंगमकै शब्दमा :


    रिसेप्सनमै संगीत माग्दा अलमल
    गायक गुलाम अली २०४१ सालतिर काठमाडौं आउनुभएको थियो । उहाँको गजल साँझ कार्यक्रम सोल्टी होटलमा गर्नुपर्ने थियो । (आयोजकले नेपालमा आएपछि नेपाली गीत पनि गाउन अनुरोध गरेको रहेछ ।) उक्त पार्टीमा म पनि निम्तालु थिएँ । सेक्सनपार्टीले मलाई उहाँसँग सोल्टी होटलको रिसेप्सनमा भेटाइदिए । त्यहाँ गुलाम अली सा’बले मेरो कम्पोजमा गीत गाउन इच्छा जाहेर गर्नुभयो । म एकछिन त अलमलै परें । उहाँले मेरो कम्पोजमा गीत गाउन चाहनुहुन्छ भन्ने सोचेकै थिइनँ ।

    उहाँले नेपालमा जम्मा चार दिनको बसाइ रहेको बताउनुभयो । यो छोटो समयमा उहाँले चारवटा गीत गाउने इच्छा प्रकट गर्नुभयो । अप्रत्याशित हिसाबले यसरी कुरा राख्दा म अचम्मै भएँ । पत्याउनै सकिनँ । सुखद आश्चर्य भयो । मसँग साधन थियो किनकि म त्यस बेला रत्न रेकर्डिङको महाप्रबन्धक थिएँ । तर, कम्पोज भएका गीत थिएनन् ।

    उहाँले गीतचाहिँ महेन्द्र वीरविक्रम शाहको हुनुपर्ने भन्नुभयो । थप संकटमा परें । उहाँको त कुनै पनि गीत गाउन सजिलो थिएन । सजिलो भए पनि कम्पोज थिएनन् । कम्पोज पनि हलुका गर्ने कुरा भएन । सोचमग्न भएँ । म कोसिस गर्छु भनेर पार्टीबाट फर्किएँ ।

    ‘लोलाएका ती तिम्रा’ र ‘किन–किन तिम्रो तस्बिर’को ट्युन
    त्यही साँझ घरमा आएर मैले मवीवि शाहका गीतको सँगालो हेरें । त्यसबाट केही गीत छानें । अनि, हार्माेनियम लिएर बसें । रातको ११ बजेको थियो । अरूलाई डिस्टर्ब गरेर भए पनि मैले गीतको ट्युन गर्न थालें । ‘लोलाएका ती तिम्रा’ बोलको गीत रातभर लगाएर कम्पोज गरें । भोलि बिहान ६ बजे बागबजारको पद्मकन्या क्याम्पस पुगें । त्यहाँ म संगीत पढाउथें । तर, म छिटो पुगेर पढाउनुको साटो अर्को गीत कम्पोज गर्न बसें । ‘किन–किन तिम्रो तस्बिर मलाई निको लाग्छ’ बोलको गीतलाई मैले त्यहीं ट्युनिङ गरें ।

    दुई गीतको ट्युनिङ गरेर म उहाँ (गुलाम अली) बस्नुभएको एभरेस्ट होटलमा पुगें । उहाँलाई भेटेर हार्माेनियममै ट्युन सुनाएँ । सायद २०४१ साल चैत १६÷१७ गते थियो । म ३३ वर्षको थिएँ । उहाँलाई गीत सुनाउँदा म साह्रै नर्भस भएँ । मेरो आवाज दब्ला भन्नेमा साह्रै पिरोलिएँ । तर, गीत त सुनाउनै पथ्र्यो । कोसिस कस्तो हुन्छ भन्नेमा पनि चिन्ता थियो । म सामान्य मान्छेले कम्पोज गरेको गीतलाई एक अन्तर्राष्ट्रिय गायकले कसरी लिने हुन भन्ने डर थियो । तैपनि डराई–डराई सुनाएँ । त्यत्रो मान्छेसँग फेस गर्न मलाई धुकचुक थियो । कसरी लिनुहोला भन्ने पीर पनि थियो । गीत सुनेर उहाँले स्यावास् भन्नुभयो । खुसी हँुदै तुरुन्तै रेकर्डिङको बन्दोबस्त मिलाउनुस् भन्नुभयो ।

    गाउँदा–गाउँदै गीत पपुलर हुने भविष्यवाणी
    म त्यस बेला सिंहदरबारमा रत्न रेकर्डिङ कर्पोरेसनको महाप्रबन्धक थिए । तयारी गर्न खासै समय लाग्थेन । पहिला–पहिला गीत रेकर्डिङकै लागि कलकत्ता पुग्नुपथ्र्यो । त्यही दुःख नहोस् भनेर नेपालमा रत्नराज्यलक्ष्मीको व्यक्तिगत पैसाबाट रत्न रेकर्डिङ स्टुडियो खुलेको थियो । जसलाई मैले हेरिरहेको थिएँ ।

    मैले उहाँलाई भोलिपल्ट स्टुडियोमा बोलाएँ । उहाँ आउनुभयो । दुइटा गीतको प्राक्टिस गरेपछि उहाँले गाउनुभयो । दुई दिनमा दुई गीत रेकर्डिङ गरेपछि बाँकी दुई गीत थियो । ‘के छ र दिऊँ तिमीलाई’, ‘गाँजलु ती ठूलाठूला आँखा’ दुवै गीतलाई मैले एकै दिनमा कम्पोज गरें । उहाँले केही छिन प्राक्टिस गरेपछि एकै दिनमा दुवै गीत गाउनुभयो । यो गीत तयार पार्दा २०४१ साल चैत २१ गते थियो कि सायद ।
    गीत रेकर्ड गर्नुअघि प्राक्टिसका क्रममा उहाँले यो गीत पपुलर हुन्छ भनेर मलाई धाप दिनुभएको थियो । उहाँले गुनगुनाउनुभयो । अन्तराको दोस्रो पंक्तिमा अलिकति अप्ठ्यारो भएको फिल गर्नुभएको थियो । खानसाब अप्ठ्यारो भए म चेन्ज गरिदिऊँ भनें । उहाँले हुन्छ भनेपछि मैले अलिकति रेन्ज चेन्ज गरे । उहाँले गुनगुनाउनुभयो । सजिलो गरी गाउनुभयो । खुसी हुनुभयो ।

    गायकले नै विरोधीको मुख थुने
    त्यसताका राजा महेन्द्रका गीत सेन्सर गर्नुपर्थेन । तर, चाँदनी शाहको गीत भने सेन्सर गर्नुपथ्र्यो । गुलाम अली सा’ब चौथो दिनमा फर्किनुभयो । गीतको मिक्सिङ गरेपछि २०४२ वैशाख १ गते मैले गीत रिलिज गरें । रेडियो नेपालबाट सार्वजनिक गरिएको चारै गीतले श्रोताको मन जितिहाल्यो । अली सा’बले भनेझैं पपुलर भयो पनि ।

    उहाँलाई मैले गीत राजदूतावासमार्फत पठाइदिएँ । पछि उहाँले गीत हिट भएको थाहा पाउनुभएछ । यस्तो गीतलाई नेपालका केही मान्छेले काफी विरोध पनि गरे । त्यसमा मभन्दा सिनियर बढी थिए । हामी पुरानालाई अवसर दिएन भन्ने कुरा आयो । पछि गुलाम अलीले एक कार्यक्रममा भनिदिनुभयो, ‘उहाँको कम्पोज मीठो लागेर मैले काम गरेको हुँ । अन्यथा नलिए हुन्छ ।’ त्यस बेला मेरो मन खुसीले गर्विलो भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology