सोमवार, असार २, २०७६

कटुवालकै भरमा सूचना !



लमजुङ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँका चन्द्रबहादुर गुरुङले गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी गर्न थालेपछि गाउँवासी कान टाठो गर्दै गुरुङलाई सुन्न थाल्छन् । डाँडाबाट उनका गाउँमा हुन लागेको वा हुनेवालाको नयाँ सूचना वा खबर सुनाउछन् । उनी गाउँलेलाई सूचना दिने मान्छे अर्थात् कटुवाल हुन् ।

प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका गाउँका बासिन्दालाई सामूहिक रुपमा सूचना (खबर) गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको प्रथा कायमै रहेको छ । गाउँमा भइरहने विभिन्न भेला, कार्यक्रम तथा बैठक, विवाहलगायतका शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् ।

गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, खानेपानीको मर्मतसम्हार, सामुदायिक वनको गोडमेल, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने, गाईभैँसी लेकमा लैजाने र वेँशीमा राख्ने लगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङले बताए । उनि भन्छन्, “गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति नै गाउँको कटुवाल हो ।” वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको हुने गुरुङले बताए ।

वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र आफूले गत मङ्सिर महीनाबाट सो जिम्मेवारी सम्हालेको कटुवाल गुरुङले बताए । घाम्राङगाउँ मात्रै नभई आसपासका घाम्राङवेशी, घिचे, साल्मेलगायतका गाउँमा समेत गुरुङले नै खबर पु¥याउने गर्छन् । “गाउँमा जे जस्तो खबर गर्नु परे पनि मै दौडिने हो”, गुरुङले भने, “गाउँमा पुगेर कतै चौतारोमा, कतै अलि अग्लो थुम्कोमा बसेर उर्दी गरेपछि सबैले थाहा पाइहाल्छन ।”

गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी गर्न पाउँदा आफू सन्तुष्ट नै भएको उनि बताउछन् । गाउँमा हुने कुनै पनि कार्यको खबर कटुवालबाटै आफूहरुले थाहा पाउने स्थानीयवासी गमबहादुर गुरुङले बताए । कटुवालले एकै पटकमा सबैलाई खबर पु¥याउने हुँदा कसैले थाहा पाउने वा कसैले नपाउने भन्ने समस्या नरहने उनको भनाइ छ ।

कटुवाल कराएबापत उहाँले गाउँलेबाट सामूहिक रुपमा वार्षिक पाँच मुरी धान, एक मुरी कोदो पाउँछन् । बर्सेनी गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ । काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै परिवार धान्दै आएका छन् । कटुवालको जिम्मेवारीमा आउने अन्न, आफूले उब्जाउने अन्न र मेलापात गरेर आउने नगद आम्दानीले आफ्नो जीवन निर्वाह भइरहेको छ ।

गाउँ–गाउँ चहार्दै चर्को स्वरमा कराउनुपर्ने भएकाले काम अलि अप्ठारो नै भएको उहाँले बताउनुभयो । प्रविधिको विकास भएसँगै गाउँले वा वडा कार्यालयबाट हाते माइकको व्यवस्था गरेर माइकमार्फत नै खबर सुनाउन सकिनेतर्फ कसैको ध्यान गएको छैन । अहिलेसम्म दुईहात जोडेर चर्को आवाजमा कराउँदै आएको तर आफूले पनि कसैसँग माइक माग नै नगरेको उनि बताउछन् ।

क्व्होलासोथर मात्रै नभई जिल्लाका अधिकांश गाउँमा अहिले पनि सामुदायिक सूचना प्रवाहका लागि परम्परागत ढङ्गमै कटुवालको चलन रहेको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बताए । प्रभावकारी सूचना सम्प्रेषणका लागि उनीहरुलाई प्रविधिमैत्री बनाउनुपर्ने उनको तर्क छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology