बिहिबार, असार १२, २०७६

आँसुमा पोखिएको डीआरको छोटो जीवनः जव आफ्नै आर्दश नेताले घरको दैलोबाट निकाले



एक दिन मसँग एकान्त कोठामा आँसु झार्दै कुरा गर्नुभयो । मैले कहिल्यै नबिर्सने क्षण हो त्यो । आफूले आदर्श मान्ने नेताले उनको घरमा जाँदा दुईपटक गेटआउट भनेका रहेछन् । पहिलो पटक जनएकताको सम्पादक हुँदा लेखमा सम्पादन गर्दा त्रुटि भएको विषयमा ती नेताले घरबाट गेटआउट भनेछन् । अर्को पटक मन्त्री हुँदा एउटा नियुक्तिका विषयमा सामान्य मतभेद हुँदा तीनै नेताले अब आइन्दा मेरो घरमा नआउनु भनेर हकारेर पठाएछन् । त्यो कुरा मलाई डीआर दाइले रुँदै सुनाउनुभयो ।

श्रीमान्–श्रीमती जी र तपाईं

उहाँ (धनीराम पौडेल अर्थात् डीआर)को वैयक्तिक जीवनबारे त मलाई त्यति धेरै जानकारी छैन । तथापि, केही संस्मरणमार्फत उहाँलाई चियाइरहेको छु । डीआर दाइसँग मेरो भेट २०५०–०५२ सालतिर भएको थियो । उहाँले विवाह गरिसक्नुभएको थियो । त्यति बेला उहाँहरू श्रीमान्–श्रीमती पार्टीको कामका सिलसिलामा हाम्रो गाउँ (पालुङ) आउनुभएको थियो । उहाँहरू दुवै जना एकअर्कोलाई तपाईं र जी भनी सम्बोधन गर्नुहुन्थ्यो । दाइले गंगाजी र गंगाजीले डीआरजी भन्नुहुन्थ्यो । म त्यस बेला १०–१२ वर्षको थिएँ । उहाँहरूको सम्बोधनले महिला र पुरुष समान हुनुपर्छ भन्ने सोचको व्यावहारिक अनुवाद गरेजस्तो महसुस भयो । उहाँसँगको मेरो पहिलो प्रत्यक्ष सम्झना त्यही हो ।
विद्यार्थी आन्दोलनको वैचारिक नेता

डीआर पौडेल विद्यार्थी आन्दोलनको एक वैचारिक नेतृत्वकर्ता हुनुहुन्छ । उहाँ विद्यार्थी आन्दोलनबाटै राजनीतिमा आउनुभएको थियो । तत्कालीन एकता केन्द्र र माओवादीबीच २०५१ सालमा फुट भयो । उहाँ संयोजक हुनुभयो । लगत्तै उम्मेलनमा उहाँले तयार पारेको दस्तावेज विद्यार्थी आन्दोलनको वैचारिक कोशेढुंगाजस्तो बन्यो । त्यति बेलाको सम्मेलनमा म फुच्चे थिएँ । तर, आजसम्म पनि डीआर दाइलाई सम्झँदा त्यही प्रतिवेदन सम्झन्छु, आजसम्म पनि जसको वरिपरि प्रायः सम्मेलनका दस्तावेज बन्दै छन् । विचार र शिल्पको योगसहितको त्यस्तो दस्तावेज अर्को बनेको अनुभूत मैले गरेको छैन । त्यस कारण उहाँले विद्यार्थी आन्दोलनलाई वैचारिक नेतृत्व प्रदान गर्नुभएको थियो ।

कुशल सम्पादक

उहाँ एक कुशल सम्पादक हुनुहुन्थ्यो । यसर्थमा कि उहाँले केही पुस्तक सम्पादन गर्नुभएको थियो । मुख्य कुराचाहिँ उहाँ २०५५ सालपछि ‘जनएकता’ पत्रिकाको सम्पादन गर्नुहुन्थ्यो । लामो समय त्यो पत्रिकाको सम्पादन गर्नुभयो । त्यो बेला निकै पढिने पत्रिका थियो जनएकता । उहाँ मिसन पत्रकारितालाई अगाडि बढाउनुपर्छ भनेर नमुनायोग्य काम गर्न सफल हुनुभयो । जनएकतालाई खोजीखोजी पढ्ने स्तरमा पुर्याउनमा गिरिराजमणि पोखरेलपछि उहाँकै योगदान छ । सम्पादन उहाँको जीवनको पर्यायजस्तै थियो ।

आफैंमा एक इतिहास

उहाँ एक संकलक पनि हुनुहुन्थ्यो । पुराना विद्यार्थी आन्दोलनका, पार्टी आन्दोलनका पर्चा, पम्प्लेट, फोटा, दस्तावेज, राजनीतिक पुस्तक उहाँले संग्रह गर्नुभएको थियो । यसो भनौं उहाँ कम्युनिस्ट आन्दोलन र विद्यार्थी आन्दोलनको भौतिक इतिहास हुनुहुन्थ्यो । पुराना घटनाको पर्चामार्फत याद दिलाउन सक्नुहुन्थ्यो । उहाँसँग प्रमुख राजनीतिक आन्दोलनका सबै पर्चा हुन्थे । मलाई त कुनै समयको कुनै सामग्री चाहिँदा डीआर दाइलाई सम्झन्थें र पाई पनि हाल्थें । इतिहास संकलनमा उहाँको रुचि थियो । उहाँको घरमा ती सामग्री अझै होलान् । यो उहाँको अर्को विशेषता हो जस्तो लाग्छ ।

अथक संघर्ष

उहाँलाई सम्झिनुपर्ने मुख्य विषयमा पर्छ संघर्षमय जीवन । पहिलो त एउटा मान्छे एउटा जीवनमा कति खट्न सक्छ भन्नेमा उहाँलाई हेरे पुग्थ्छ । १० घण्टा पढेर बस्नुपर्यो भने पढेको पढ्यै गरेर बस्न सक्ने । उहाँ कुनै काममा जानुभयो भने सबैभन्दा कठिन काममा पनि सफल बन्न सक्ने । उहाँले युवा बेला पार्टीका काममा पूर्वका पहाड सम्हाल्नुभयो । खोटाङ, सोलु, भोजपुरजस्ता पूर्वी पहाडमा कम्युनिस्ट आन्दोलनको पुस्ता निर्माण गर्ने गरी खट्नुभयो । त्यसैगरी उहाँले पश्चिमको कर्णाली पनि सम्हाल्नुभयो । नेताहरू प्रायः सुविधा भएका ठाउँमा जान रुचाउने हुन्छन् । कोही अन्त जान तयार नहुँदा उहाँ कर्णाली जानुभयो र जिरोबाट पार्टीका सबै कमिटी बनाएर आउनुभयो । त्यो पनि जीवन्त संगठनको व्यावहारिक अनुवाद गरेर । त्यसकारण उहाँ मेहनत र संघर्षको पर्याय र कुशल संगठक हुनुहुन्थ्यो ।

डिल्लीबजारको रातो भात

डिल्लीबजारमा डीआर दाइको कोठा थियो । त्यहाँ पाकेको रातो भात मलाई झल्झली याद आइरहेको छ । पार्टीको कोषका लागि हामी त्यो बेला देउसी खेल्न जान्थ्यौं । देउसी खेलेर जम्मा भएको चामल पार्टीका साथीहरूलाई गंगाजीले पकाएर खुवाउनुहुन्थ्यो । परिवारमा दुई छोरी, दिदीबहिनी, कहिलेकाहीं आमाबुवा गर्दा ५–७ जनासम्म हुन्थ्यो । एउटै कोठामा त्यति धेरै बस्नुहुन्थ्यो । त्यो कोठामा जाने पार्टीका जो कोही साथीले पनि खाना खान पाउँथे । म पनि केही पटक त्यहाँ गएको छु । त्यो बेला त्यहाँ रातो भात पाक्थ्यो । त्यो रातो भातचाहिँ देउसी खेलेर जम्मा भएको चामलको थियो । गंगाजीले बनाएर खुवाएको त्यो रातो भातको याद धेरै साथीलाई ताजै होला ।

सरल जीवनशैली

उहाँलाई सम्झनुपर्ने अर्को कुरा सरलता हो । उहाँको जीवनशैली अत्यन्तै सरल थियो । एउटै सर्ट, एउटै पाइन्ट । निकै सरल जीवनशैली । त्यो सरल जीवनशैली मन्त्री हुँदा पनि कायमै रह्यो । संघर्षको निरन्तरता र सरलताको प्रतिबिम्बको रुपमा उहाँलाई बुझ्नुपर्छ जस्तो लाग्छ । एउटा मान्छे मन्त्री पदमा पुग्दा पनि यति सरल बन्न सक्दो रहेछ भन्ने उदाहरण उहाँले जीवनमा अनुवाद गर्नुभएको थियो । सरलता उहाँले अन्तिमसम्मै कायम राख्नुभयो । उहाँको सरलता यतिसम्म थियो कि आफू भोकाएको कुरासम्म कसैलाई नभन्ने । कसैको घरमा बस्न गयो भने खाना पकाउनुसम्म नभन्ने । सरलताको एउटा नमुना । सरलताको पराकाष्ठा हो । मान्छेलाई देवत्वकरण त गर्न त नमिल्ला तर डीआर दाइको कुनै कमजोरी थियो भने त्यो सरलता नै हो जस्तो लाग्छ ।

आँसुमा पोखिएको डीआर

उहाँले एक दिन मसँग एकान्त कोठामा आँसु झार्दै कुरा गर्नुभयो । मैले कहिल्यै नबिर्सने क्षण हो त्यो । आफूले आदर्श मान्ने नेताले उनको घरमा जाँदा दुईपटक गेटआउट भनेका रहेछन् । पहिलो पटक जनएकताको सम्पादक हुँदा लेखमा सम्पादन गर्दा त्रुटि भएको विषयमा ती नेताले घरबाट गेटआउट भनेछन् । अर्को पटक मन्त्री हुँदा एउटा नियुक्तिका विषयमा सामान्य मतभेद हुँदा तीनै नेताले अब आइन्दा मेरो घरमा नआउनु भनेर हकारेर पठाएछन् । त्यो कुरा मलाई डीआर दाइले रुँदै सुनाउनुभयो । र, त्यस्तो कुरा पनि उहाँले सहज रुपमा पाचन गर्नुभयो सायद नेतालाई आदर्श मानेर । म त्यो ठाउँमा भएको भए त्यति सजिलै त्यस्तो अनैतिक अपमान सहन्नथेँ होला ।

मन्त्रीजस्तै थिएनन्

मन्त्री भन्नेबित्तिकै रवाफ, आदेश र शौखको बिम्ब भन्ने छ । हामी उहाँसँग मन्त्रालयमा हुँदा पनि बाहिरबाट हेर्दा के के न जस्तो ठानिने मन्त्रालयमा दाइको सरलता असाधारण थियो । कर्मचारीलाई पनि कहिल्यै आदेश दिने, हकार्ने या हप्काउने गर्नुभएन । मन्त्रीको सरलता कर्मचारीको आश्चर्यकै बिषय बन्थ्यो । समग्रमा भन्दा अवसरमा पुगेर पनि जनता, पार्टी र क्रान्ती निष्ठालाई जीवन आदर्श बनाउन वहाँ सफल हुनुभयो । शिक्षा नियमावली जारी गर्ने काम, आंगिक बहुप्राविधिक विद्यालयहरु स्थापना गर्ने कुरा, सरकारी कृषि क्याम्पसहरु विस्तार गर्ने कुरा, नमुना विद्यायल स्थापना गर्ने कुरा उहाँकै कार्यकालमा भएका थिए ।

विचार र पार्टीको अन्तरद्वन्द्व

एमालेसँग पार्टी एकता गर्ने कुरामा उहाँ सहमत हुनुहुन्थेन । हामीबीच निकै चरणमा छलफल भएको थियो । समग्र विचार छाडेर पार्टी एकतामा जाने भएपछि भित्रै बसेर संघर्ष गर्ने कि बाहिर निस्कने भन्नेमा हामी विद्रोह गर्दै नयाँ बनाउनुपर्छ भन्नेमा भयौं । उहाँचाहिँ भित्रै संघर्ष गरौं भनेर बस्नुभयो । तर, आफ्नो सारा फरक मत उहाँले सामाजिक सञ्जाल, लेख र संवादमा राख्दै आउनुभएको थियो । उहाँभित्रको वैचारिक स्थिति र उहाँको संलग्नता भएको पार्टीबीचमा निकै अन्तर्विरोध थियो भन्ने लाग्छ । तथापी वहाँ त्यही पार्टीमै हुनुहुन्थ्यो ।

जागृत रायमाझी (विद्यार्थी नेता)

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology