शुक्रबार, साउन ३, २०७६

एकताका वेला गरिएका सहमतिप्रति सबै इमान्दार बनौ, नत्र ठूलो दुर्घटना हुनेछ : प्रचण्ड

  • प्रकाशित मिति : सोमवार, असार २, २०७६



  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताएका छन् ।

    शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उनले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र परिमार्जन गर्नुपर्ने बताए ।

    “पार्टी एकतालाई सुदृढ गर्ने र बाँकी रहेका कामलाई टुङ्ग्याउने तथा भएका सहमति, समझदारीमा इमान्दारिसाथ उभिनुपर्छ”, अध्यक्ष दाहालले भने, “स्पष्ट मान्यता र सिद्धान्तअनुसार पार्टी एकता गरिएको हो । नेपाली जनताका अगाडि गरिएका बाचा कबोल हामी कसैले पनि बिर्सन हुँदैन । यसबाट कसैले दायाँबायाँ गर्न खोज्यो भने त्यो नेपाल राष्ट्र र नेपाली जनताप्रति घात हुनेछ ।”

    माक्र्सवादको निर्देशन र पथप्रदर्शनमा समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यले दुई पार्टीबीच एकता भएको उल्लेख गर्दै उनले ठूला पार्टीबीचको एकताका क्रममा केही जटिलता देखिएको भए पनि एकताको मर्मअनुुसार अन्तिम रुप दिइने बताए ।

    “दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता गरेर ठूलो ऐतिहासिक र आसाधारण कामको शुरुआत गरिएको छ, सिद्धान्तहीन ढङ्गबाट पार्टी एकता गरिएको होइन । पार्टीको यस लक्ष्यलाई नबुझेर कतिपयलाई ‘अलमल’ हुनसक्छ” अध्यक्ष दाहालले भने, “पार्टीले सामूहिक ढङ्गले राजनीतिक प्रतिवेदन तयार पार्दा हिजोका दुबै धारका वरिष्ठ नेताको सर्वसम्मतिमा दुबै पार्टीका उच्च निकायबाट पारित गरेर आगामी बाटो टुङ्ग्याइएको हो ।”

    पार्टीको राजनीतिक प्रतिवेदनमा नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्न तत्कालीन अवस्थामा दुई पार्टीले खेलेको भूमिकालाई सकारात्मक ढङ्गबाट मूल्याङ्कन गरिएको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भने, “जनताको बहुदलीय जनवादको भूमिका होस् वा एक्काइसौँ शताब्दीको जनवाद तथा माओवादी जनयुद्धले खेलेको सकारात्मक भूमिकाको मूल्याङ्कन गर्दै अगाडि जानका लागि इतिहासका ती अनुभव, नीति, कार्यक्रमलाई परिमार्जन गरिनुपर्छ । यी विषयलाई विकसित गरेर जानुपर्छ भन्ने मान्यतासाथ हामीले पार्टी एकता गरेका हौं।”

    शहीदका बलिदान, लाखौँ श्रमजीवी जनताले गरेको योगदान सबैलाई सम्मानित गर्दै स्थापित गर्न र बलिदानको आलोकमा अगाडि जानु नै सही क्रान्तिकारी बाटो भएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले भने, “अहिले निराश हुनुपर्ने स्थिति छैन, शहीदको सपना पूरा गर्न सङ्कल्प गर्दै आफूलाई उद्देश्यबाट विचलित नहुने दृढता गर्नुपर्छ ।”

    गतिशील, सिर्जनशील र बहुआयामिक व्यक्तित्वका रुपमा उदाएका खड्का वामपन्थी विचार र नेतृत्वको पक्षमा अगाध आस्था र विश्वास राख्ने व्यक्तिका रुपमा आफूले पाएको स्मरणसमेत गरे । अध्यक्ष दाहालले भने, “पार्टीको विचार र नेतृत्वको रक्षाबिना आन्दोलनले सकारत्मक परिणाम निकाल्न नसक्ने खड्काको निष्कर्ष थियो ।”

    कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न इमान्दार भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । जनताको पथमा हिँड्ने बाटोबाट विचलित नभइ अघि बढ्नुनै शहीदप्रति सञ्चा सम्मान हुने उनको भनाइ थियो ।

    नेकपाका स्थायी समिति सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले क्रान्तिका लागि निरन्तर लागिरहने योद्धाका रुपमा आफूले शहीद खड्कालाई पाएको उल्लेख गर्दै वर्गीय मुक्तिको पक्षमा सही कदम चाल्न सकियो भने मात्र शहीदप्रति सञ्चा श्रद्धाञ्जलि हुने बताए ।

    प्रदेश नं ३ का प्रदेशसभा सदस्य पशुपति चौलागाईले पार्टी एकतालाई अन्तिम रुप दिएमा सहीद खड्काप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । युवा अवस्थामै अत्यन्त क्रान्तिकारी छवि भएको योद्धाका रुपमा आफूले खड्कालाई पाएको स्मरण गर्दै उनले शहीद खड्का जीवितै भएको भए आज आफ्नो पनि नेता हुने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology