आइतवार, भदौ ८, २०७६

‘नैतिकताको कसीमा यौन स्वतन्त्रता’

  • प्रकाशित मिति : शनिबार, असार २१, २०७६



  • अध्यात्मले विज्ञान, संज्ञान, संवेदना र संस्कारको चक्रबाट मुक्त हुन समभाव र अनाशक्त भावले व्यवहार गर्ने अभ्यासमा लाग्नुपर्ने कुरामा जोड दिन्छ । तर, यहाँ प्रश्न उठ्छ जो भोकै छ त्यो कसरी अनाशक्त हुने अभ्यास गर्न सक्ला ? जसलाई रागकै अनुभूति छैन ऊ कसरी विराग (वैराग्य)को मार्गमा जान सक्ला ? जसले भोगकै तृप्ति प्राप्त गरेको छैन त्यसले कसरी योगको बाटो लिन सक्ला ?


    – भरत साउँद

    जतिसुकै सामाजिक आवरण दिइए पनि यौन नितान्त निजी विषय हो । यसलाई वैधता दिने सामाजिक संस्था विवाह हो । विवाहेत्तर जीवनमा पनि यौनको आवश्यकता रहेकै हुन्छ । तर, समाजले त्यसलाई मान्यता नदिँदा वा अपराधीकरण गर्दा मानसिक तथा सामाजिक समस्या हुने गरेका छन् । निजत्व तथा गोपनीयता मानवीय यौनको प्रमुख विशेषता हो ।

    अरूलाई नोक्सान नहुने गरी निजी कुरा गर्न हरेक व्यक्ति स्वतन्त्र हुन्छ । अरूका निजी कुरामा उसको सहमतिबिना प्रवेश गर्नु अपराध हो । मानवीय भावना र मर्यादाविरोधी कुरा हो । आपसी सौहार्दतामा कसैसित यौनसम्बन्ध राख्छ भने त्यो व्यक्तिको निजी कुरा हो । त्यसलाई नैतिकता वा सामाजिक मान्यता स्खलनका रुपमा प्रचार गरी ठूलो मुद्दा बनाउनु भद्दा र अश्लील हर्कत हो ।
    केही समयअघि सञ्चारमाध्यममा एउटा समाचार आएको थियो– अन्तरजातीय र अनमेल विवाह गरेका भनी वृद्धवृद्धालाई गाउँनिकाला । समाचार प्रकाशनपछि त्यस वृद्धवृद्धाको जोडीमाथि सहानुभूति देखाउन संघसंस्था, बुद्धिजीवी, अधिकारकर्मी, समाजसेवी तथा सचेत नागरिक भनिनेहरूको तिहार सुरु भयो । गाउँनिकालामा परेका गुल्मीको कुनै गाउँका महिला र वृद्धलाई पुनःस्थापना गर्न अधिकारकर्मीदेखि प्रमुख जिल्ला अधिकारीसहितको सहभागिता रहेको पनि समाचारमा उल्लेख थियो । उनीहरुको पुनःस्थापना मात्र गराइएन विवाहसमेत गराइयो ।

    उक्त समाचारअनुसार भएको के रहेछ भने ४५ वर्षभन्दा माथि उमेरकी महिलाका श्रीमान् मानसिक तथा शारीरिक अपांगता भएका व्यक्ति रहेछन् । ६० नाघेका पुरुषकी श्रीमतीको मृत्यु भइसकेको रहेछ । उनीहरुबीच नाजायज सम्बन्ध रहेको आरोप लगाई स्थानीय तहका कर्मचारीदेखि जान्नेसुन्ने भनिने कथित उपल्ला जातका अगुवाबाट गाउँनिकाला गरिएको रहेछ ।
    यहाँ प्रस्ट छ उनीहरूलाई लगाइएको आरोपमा प्रयोग गरिएको नाजायज सम्बन्धको अर्थ यौनसम्बन्ध भन्ने हो । उनीहरुबीच कुनै सम्बन्ध थियो या थिएन थाहा छैन । भए पनि त्यो उनीहरुको निजी कुरा हो । पराजुलीका नाबालक छोराछोरी छन् । तिनको लालनपालन उनले ज्यालामजदुरी गरेर गरिरहेकी थिइन् । केही ठालुहरुको ढोङका कारण पहिले गाउँनिकाला र पछि पुनःस्थापनाका नाममा सुनार पुरुषसित विवाह गराइएकी पराजुली महिलाको परिवारको विघटन र नाबालक छोराछोरीको बिचल्ली भएकोतिर अधिकारकर्मी भनिने एनजीओका जागिरेले सोच्नुपर्ने आवश्यकता महसुुस गरेनन् ।

    यौनलाई विज्ञानले शारीरिक र मानसिक प्राकृतिक प्रक्रियाका रुपमा लिएको छ । यसलाई व्यवस्थित गर्नका लागि समयक्रममा समाजसापेक्ष विभिन्न मूल्य र मान्यता बनेका छन् । समाजको परिवर्तित स्वरुप, परिवेश र आवश्यकताले त्यस्ता मूल्यहरुमा फेरबदल ल्याउँदै आएको पनि छ ।

    मानवीय यौन केवल शरीरसँग मात्र सम्बन्धित नभई अधिकतर मन र भावनासित पनि सम्बन्धित छ । त्यसैले यसलाई एनाटमी वा फिजियोलजीको मात्र विषय नबनाई मनोविज्ञानको विषयका रुपमा विश्लेषण गरिन्छ । मनमा दमित एषणा वा कामवासनाको अत्यधिक दमनका कारण मानिसमा डिप्रेसन आउने, चिडचिडाहट हुने मात्र होइन, मनोकुण्ठाजन्य विकृति उत्पन्न हुने र मानसिक सन्तुलनमा प्रतिकूल अवस्था आउने खतरा हुन सक्छ भनी चिकित्साशास्त्री भन्छन् । त्यसैले यौनको कामना वा इच्छित वासनालाई दमन गर्नुभन्दा त्यसको सहज परिपूर्ति हुनु शारीरिक तथा मानसिक स्वास्थ्यका लागि उपयुक्त हो । तर, हाम्रो समाजले अविवाहित तथा एकल व्यक्तिको यौन चाहनालाई मान्यता दिएको छैन, जुन प्रमुख समस्या हो ।

    अध्यात्ममा यौनलाई आशक्ति र रागका रुपमा बढी व्याख्या गरिएको छ । कतिपय धर्ममा त यौनलाई नरकको बाटो भनेर पनि व्याख्या गरिएको छ । ब्रह्मचार्यलाई उपयुक्त मानिएको छ । कुमारी वा कुमारलाई पवित्रताको प्रतीक मानिएको छ । त्यसले यौन क्रियाकलाप गर्नु खराब हो र गर्नै परे पनि पतिपत्नीबाहेक गर्नु त झन अपराध नै हो भन्ने मान्यता स्थापित गरेको छ । यही कारण कुनै पनि कारणले पतिपत्नीसित टाढा रहेका व्यक्तिले आफ्ना जैविक आवश्यकता पूरा गर्न नपाउने र उनीहरूका पारिवारिक जीवन तहसनहस हुनेजस्ता समस्या देखिने गरेका छन् ।

    अध्यात्म भनेको ईश्वर प्राप्त गर्ने मार्गको खोजी हो । अध्यात्मले विज्ञान, संज्ञान, संवेदना र संस्कारको चक्रबाट मुक्त हुन समभाव र अनाशक्त भावले व्यवहार गर्ने अभ्यासमा लाग्नुपर्ने कुरामा जोड दिन्छ । तर, यहाँ प्रश्न उठ्छ जो भोकै छ त्यो कसरी अनाशक्त हुने अभ्यास गर्न सक्ला ? जसलाई रागकै अनुभूति छैन ऊ कसरी विराग (वैराग्य)को मार्गमा जान सक्ला ? जसले भोगकै तृप्ति प्राप्त गरेको छैन त्यसले कसरी योगको बाटो लिन सक्ला ? त्यसैले यौनलाई निषेधको घेरामा होइन व्यक्तिको स्वतन्त्रतामा सामेल गर्नुपर्छ, जसबाट व्यक्ति असन्तुलित हुनबाट जोगिन्छ । शारीरिक तथा मानसिक स्वास्थ्य दुरुस्त भएको व्यक्ति आध्यात्मिक तथा सांसारिक जीवनमा सफल हुन सक्छन् । नत्र आफैं रुग्ण व्यक्तिबाट कसरी सफलता र सामाजिक योगदानको आश गर्न सकिएला र ?

    विवाह सामाजिक तथा कानुनी कुरा हो भने यौन नितान्त जैविक र व्यक्तिगत । यौनका सन्दर्भमा पनि कानुनी तथा सामाजिक नियम र नियन्त्रणका प्रावधान बनाइएका हुन्छन् । तर, ती कहिल्यै सर्वमान्य हुँदैनन् । यौनमा सर्वथा गोपनीयतालाई प्राथमिकता दिइने हुनाले यसमा समाजले वा राजनीतिले बनाएका सबै नियम पालना गरिएका हुँदैनन् । त्यसैले कससित कहिले यौन सम्बन्ध राख्ने वा नराख्ने भन्ने दुई जना व्यक्तिको समझदारीमा भर पर्ने कुरा हो । यसमा तेस्रो पक्षले हस्तक्षेप गर्नु अमर्यादित कुरा हो ।

    हाम्रो समाजले लोग्नेस्वास्नीबीच मात्र यौनसम्बन्ध हुनुपर्ने नियम बनाएको छ । जुन समयमा यो नियम बनेको थियो त्यस बेलाको सीमित सामाजिक अन्तरसम्बन्ध र परिस्थितिजन्य आवश्यकताले यो आवश्यक थियो होला । आजको समयमा यौनसम्बन्धलाई त्यति ठूलो बनाउनुपर्ने आवश्यकता छैन । कोही पनि दुई जना सक्षम व्यक्तिका बिच परस्पर सहमति हुन्छ र उनीहरु सम्बन्ध राख्छन् भने कुरा सकियो ।

    आफ्नो त्यस सम्बन्धप्रति उनीहरु स्वयं जिम्मेवार हुन्छन् । अरूले औलो उठाउनुुपर्ने आवश्यकता किन रह्यो ? मानिसका जैविक आवश्यकता पनि हुन्छन् । त्यसको परिपूर्तिका लागि उसले अरुलाई जबर्जस्ती गर्न र हानी पु¥याउन पाउँदैन । यौनबाहेक पनि मानिसले जीवनमा गर्नुपर्ने धेरै महत्वपूर्ण काम हुन्छन् । त्यसैले यौनलाई जति सरल र सजिलो विषय बनायो जीवन त्यति सहज हुने हो । जब यौनको आधारभूत आवश्यकताकै लागि मानिसले महाभारत लड्नुपर्ने वा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ तब उसले कसरी अन्य क्षेत्रमा प्रगति गर्ने समय र सामथ्र्य जुटाउन सक्ला ।

    पराजुलीको घटनामा पनि भएको यही हो । मानौँ पराजुली र सुनारबीच यौनसम्बन्ध रहेकै हो अरे । के फरक प¥यो त ? त्यसलाई यति ठूलो मुद्दा बनाएर गाउँ नै निकाला गर्नुपर्ने वा विवाह नै गराइदिनुपर्ने आवश्यकता किन प¥यो ? के पराजुलीले सुनारसित जबर्जस्ती गरेकी हुन् ? के सुनारले पराजुलीसित जबर्जस्ती गरेका हुन् ? उनीहरु दुबै जनाको परस्पर समझदारी हो भने अरूलाई के मतलब ? जबर्जस्ती गर्ने त समाज भनिएको उपल्लाहरुको जमात हो ।

    बलात्कारी अपराधी त उनीहरुलाई जबर्जस्ती बिहे गराउने वा गाउँ निकाला गर्ने सभ्य ठानिएका अभियन्ताहरुको जमात हो । व्यक्तिगत जीवनमा प्रवेश गरेर परिवार तहसनहस बनाउने यस जमातलाई समाज भन्ने कि सामाजिक रोग भन्ने ? यस रोगको उपचार चाहिँदैन ? ती महिलाका श्रीमान् अशक्त भएका कारण उनको जैविक आवश्यकता पूरा गर्न अर्का पुरुषलाई उपयुक्त पात्र देखिन् । श्रीमतीको मृत्यु भइसकेका पुरुषले आफ्नो जैविक आवश्यकता परिपूर्तिका लागि उपयुक्त पात्र देखे ।

    उनीहरुका आवश्यकता समान भए सहमति भयो र सम्बन्ध भयो भने त्यो कसरी नाजायज भयो ? जैविक आवश्यकता परिपूर्तिका लागि उनीहरु एकअर्काका सहयोगी भए । उनीहरुले एकअर्काको भावना बुझे र प्रेम गरे । तर, उनीहरुलाई सामाजिक ढोङ देखाएर पारिवारिक विखण्डनमा पु¥याउने काम त यही समाजले ग¥यो ।

    इमानदार भएर भन्ने हो भने सबैलाई थाहै छ पतिपत्नीबीच मात्र यौनसम्बन्ध राख्ने समाज संसारमा कही छैन । त्यसैले पुरुषप्रधान हुँदा समाजमा पतिबाहेक अरुसित यौनसम्बन्ध राख्न महिलालाई निषेध गरिन्छ । तर, पुरुषलाई स्वतन्त्र छाडिन्छ भने मातृसत्ताका अवशेषजस्ता देखिने समाजमा महिलालाई यौनमा केही स्वतन्त्रता दिइन्छ र पुरुषलाई निषेध गरिन्छ ।

    हिन्दू, इस्लामजस्ता धर्म मान्ने समाजमा पतिबाहेक अरुसित यौनसम्बन्ध राख्न महिलालाई निषेध गरिएको छ । तर, पुरुष जति जनासित पनि त्यस्तो सम्बन्ध राख्न स्वतन्त्र छ । यसबाट के पुष्टि हुन्छ भने समाजमा विवाहित दम्पतिबिच मात्र यौनसम्बन्ध रहनुपर्छ भन्ने नियम कहिल्यै पनि पूर्ण रुपले पालना भएको छैन । विवाहअघिको यौनसम्बन्ध पहिले पनि समाजमा थियो, आज पनि छ र यो रहिरहन्छ । यसमा कसैले टाउको दुखाउनु आवश्यक छैन ।

    एकल पुरुषलाई वा महिलालाई पनि उसका जैविक आवश्यकता पूरा गर्ने वा नगर्ने पूर्ण अधिकार छ, यो उसको नितान्त निजी कुरा हो । यसलाई सार्वजनिक विवादको मुद्दा बनाउनु र नैतिकता वा सामाजिक मर्यादासित जोडेर जबर्जस्ती गर्नु अमानवीय व्यवहार हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology