सोमवार, भदौ २, २०७६

रोमाञ्चकारी यात्रा मुगु कर्णालीको

  • प्रकाशित मिति : शनिबार, साउन २५, २०७६



  • स्थानीय सम्भावनाको खोजीभन्दा एनजीओमुखी विकासे धारणा हाबी हुँदा आफ्नो समुन्नत खस सभ्यताको महानता र समृद्धि खस्कँदै गयो कर्णालीको ।

    –योगेन्द्र थापा

    लाग्छ, सशस्त्र द्वन्द्वको सन्त्रास जस्केलोबाट चिहाइरहेछ । खुल्न मानिरहेका छैनन् मनहरू । दशवर्षे द्वन्द्वका घाउ नपुरिँदै अर्को नजानिँदो सन्नाटा अनुभूत भइरहेछ यी बस्तीहरूमा । सरकारद्वारा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध घोषणाको समाचारले माहोल अलिक त्रसित बनेको देखिन्छ यहाँ । एनईए इन्जिनियरिङ कम्पनीले जुराइदिएको संयोग हो यो । भ्रमण दलमा छौं, मुगु कर्णाली हाइड्रोपावर प्रोजेक्टका कन्सल्टिङ टिम लिडर डा. मोहनप्रसाद आचार्य, टीएसजी समूहका हाइड्रोपावर विज्ञ प्रा.डा. हरिप्रसाद पण्डित, टीएसजी समूहकै विज्ञ जियोलोजिस्ट सुवास सुनुवार, वरिष्ठ जियोलोजिस्ट गुरुप्रसाद अधिकारी, हाइड्रोपावर इन्जिनियरहरू हरिबहादुर खत्री, सुशान्त विष्ट, धीरज आचार्य, निरोज फुयाँल, जियोलोजिस्ट पुष्कर भण्डारी र म ।

    जितेगाडा बजार कालिकोट

    भनिन्छ, कर्णाली सुन सिरानी हालेर नुनको खोजीमा भौतारिइरहन्छ । खस सभ्यताको उद्गम, उद्भव र विस्तारको नाभि बोकेर गिज्याइरहन्छ निरन्तर राज्यव्यवस्था र नीति निर्मातालाई । यातायात व्यवस्था र बाहिरी दुनियाँसँगको सम्बन्धविच्छेद सदियौं व्यहोर्यो कर्णालीले । यातायात सुविधाबाट वञ्चित यहाँका सुदूर बस्ती बिस्तारै जुर्मुराउँदै गरेको आभास हुन्छ यहाँ पुग्दा । राजमार्ग वरिपरिका मिनी बजार जीवन भरिरहेछन् निर्जन सडकमा । कालिकोट, बाजुरा, मुगु र हुम्ला जोड्ने लाइफ लाइन सडक नेपाली सेनाकोे सक्रियतामा आफ्नो आकार ग्रहण गरिरहेछ । अर्थ–सामाजिक अन्तरघुलनमा यातायात सञ्जालको महत्वपूर्ण भूमिका हुन्छ । सडक यातायातबाट वञ्चित हुँदाको हिमाली र पहाडी जनजीवन वास्तवमै कहालीलाग्दो थियो प्रत्येक नेपालीको भन्ने अनुभूत हुन्छ यहाँ पुग्दा ।

    जितेगाडा कालिकोटबाट गाडी कर्णाली पार गराउँदै

    कर्णाली नदी बेसिनका विभिन्न आयोजनाको सम्भाव्यता अध्ययन प्रमुख मिसन हो हाम्रो । अपार जलविद्युत्को सम्भावना हुँदाहुँदै कर्णाली नदी बेसिनमा कुनै आयोजनाले मूर्तरूप लिन नसक्नु दुःखद छ । कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना (१० हजार ८ सय मेगावाट)को विस्तृत सम्भाव्यता अध्ययन सन् १९८९ मा सम्पन्न भएको थियो । निर्माण कार्य सुरु हुन नसकेको बृहत् आयोजना हो यो । अपर कर्णाली (जीएमआर– ९०० मेगावाट) विवादले गर्दा अनिश्चित भइरहेको छ । ठूला आयोजनाअन्तर्गत विशेष चर्चामा रहेका र एनईए इन्जिनियरिङ कम्पनीद्वारा अध्ययन भइरहेका जलाशययुक्त मुगु कर्णाली हाइड्रोपावर प्रोजेक्ट (१९०२ मेगावाट), अर्ध–जलाशययुक्त आयोजनाहरू फुकोट कर्णाली (४८६ मेगावाट), बेतन कर्णाली हाइड्रोपावर (६८८ मेगावाट) आदि हुन् । तिला कर्णाली, ठूलो भेरी, सानो भेरी नदीमा पनि विभिन्न कम्पनीले सम्भाव्यता अध्ययन अगाडि बढाइरहेका छन् ।

    हाम्रो यात्रा २०७५ फागुन २९ को बिहानै सुरु हुन्छ, कर्णाली प्रदेश सदरमुकाम सुर्खेतबाट । यात्रामा छौं प्रा.डा. हरिप्रसाद पण्डित सर, हरिबहादुर खत्री र म । सुन्दर सुर्खेत उपत्यकाको दृश्यावलोकन गर्दै हामी उकालो चढिरहेका छौं दैलेख गुराँसेतिर । विविधतापूर्ण मौसम लोभलाग्दो छ सुर्खेतको । बजार छिचोलेर थोरै उचाइ चढ्दा मात्र पनि अनुपम प्राकृतिक सौन्दर्य र शीतलता प्राप्त गर्न सकिन्छ । गुराँसेमा खाजा खाएर उपल्लो डुंगेश्वर, तल्लो डुंगेश्वर हुँदै हामी समाहित हुन्छौं कर्णाली राजमार्गमा । कर्णाली राजमार्ग आसपासका बजार नियाल्दै अगाडि बढ्दा आइपुग्छ असाराघाट बजार । प्रा.डा. हरिप्रसाद पण्डित सर भन्नहुन्छ, ‘यही आसपास हो विवादित जीएमआरको निर्माण जिम्मामा रहेको अपर कर्णाली आयोजनास्थल ।’ यसका सकारात्मक/नकारात्मक पाटा र एकीकृत जलस्रोत उपयोग र व्यवस्थापनसम्बन्धी उहाँका विचार सुन्दै हामी अगाडि बढिरहन्छौं । कर्णाली राजमार्ग हुँदै जितेगाडा बजार पार गरेर हुम्ला कर्णाली करिडोर पछ्याउने हाम्रो योजना निरन्तर चलिरहन्छ खिट्किज्युला बजारमा खाना खाएर । बाटोतिर तीव्र गतिमा बन्दै गरेका कल्भर्ट/पुलले मनलाई प्रफुल्लित बनाउँछन् । सम्झन्छु, अघिल्लो वर्ष फुकोट कर्णाली फिल्ड भिजिट दौरान निरन्तर झरीका कारण बाढी र पहिरो छिचोल्न नसकी यात्रा स्थगन गरेको नमीठो क्षण । सार्वजनिक सवारीको विरक्तलाग्दो यात्रा गर्दै गन्तव्यनजिक पुगेर अमिलो मन लिएर फर्कनुपरेको थियो सिनियर हाइड्रोपावर इन्जिनियर नवीन बस्नेत र म ।

    सात घण्टाको यात्रा तय गरेर हामी जितेगाडा आइपुग्छौं । फुकोट कर्णाली र तिला कर्णालीको संगमस्थल मात्र होइन, यो हुम्ला करिडोर र जुम्ला करिडोर छुट्टिने महत्वपूर्ण स्थान हो । अस्थायी टिनका टहरामा जीवन अडेको छ यो बजारको । मोटरेबल पुल बनिसकेको छैन । नदीमा गाडी तार्न अस्थायी फेरी÷तुइनको व्यवस्था छ । बजारबाट ५०० मिटर तल कछुवा गतिमा काम भइरहेको देखिन्छ पुल निर्माणको । सञ्चारको भरपर्दो सुविधाबाट वञ्चित छन् सर्वसाधारण । नेपाल टेलिकमको चटके नेटवर्क लुकामारी खेलिरहन्छ मोबाइलमा । यही बीच सम्पर्क हुन्छ विद्युत् उत्पादन कम्पनीका प्रोजेक्ट म्यानेजर हीरामान वाइबा र इ. दीपक श्रेष्ठसँग । जसले हाम्रो गाडीलाई कर्णाली पार गराउन समन्वय गरिरहनुभएको छ जिल्ला प्रशासन कार्यालय कालिकोटसँग ।

    हुम्ला करिडोरको कालिकोट खण्ड

    तीन घण्टाको पट्यारलाग्दो पर्खाइपछि हाम्रो गाडी झुल्किन्छ हुम्ला करिडोर किनारामा । हामी आतुर छौं झोलुंगे पार गरेर गाडी भेट्टाउन । हुम्ला करिडोर सडकखण्ड कालिकोट, बाजुरा, मुगु, हुम्लासम्म छिचोल्न अगाडि बढिरहेछ । हाम्रो गाडीमा सामान्य खराबीका कारण केही बेर रोकिन्छौं लालीघाट बजारमा । बालबालिका खेलिरहेछन् बजारभरि । सामान्य जिज्ञासा जाग्छ ममा । सोध्छु स्थानीय होटल सञ्चालकलाई । नजिकै स्कुल कहाँ छ ? सहज उत्तर आउँछ । नजिक छैन । बालबालिका पढाउन व्यापार स्थानान्तरण या आफूबाट छुट्टयाएर राख्नुपर्ने कुराले मन अमिलो हुन्छ । अस्थायी भए पनि जितेगाडा बजार र लालीघाट बजारलाई सम्बोधन हुने गरी बालबालिका शिक्षामा सहयोग पु¥याउन पूर्वप्राथमिक÷प्राथमिक विद्यालय टड्कारो देखिन्छ यहाँ ।

    कर्णालीको निरन्तर सुसाइसँगै एकाकार हुँदै हामी हिँडिरहेछौं, आजको रात्रि गन्तव्य भात्तडीतिर । फुकोट कर्णाली अर्ध–जलाशययुक्त आयोजनाको सम्भावित टेलरेस, हेकवक्र्सबारे इ. हरिबहादुर खत्री सरलाई जानकारी गराउँदै हामी अगाडि बढिरहेछौं । बाटोभरि सम्झन्छु, प्रकृतिराज जोशी सरलाई । उहाँको अथक मेहनत छ फुकोट कर्णाली अर्ध जलाशययुक्त आयोजनाको जियोलोजिकल डाटा भेरिफिकेसनमा ।

    कर्णाली राजमार्ग ६०–७० भन्दा बढी अत्यासलाग्दो चट्टानी पहरा काटेर तयार गरिएको छ । यिनै चट्टानी पहरा सडक सञ्जाल विस्तारमा चुनौती हुन् । जलस्रोत व्यवस्थापन र विकासका निम्ति सार्थक हुन सक्छन् भन्ने हेक्का राज्यका नीति निर्माता र राजनीतिज्ञलाई समयमा हुन नसक्नु यस क्षेत्रको दुर्भाग्य हो । यिनै चट्टान र पहराको तस्बिरलाई एकांकी विश्लेषणको अन्तिम आधार बनाएर योजना निर्माण हुँदा आत्मनिर्भरताको आधार गुमाउँदै गयो कर्णालीले । अहिले पनि त्यसको घाटा व्यहोरिरहेछ निरन्तर । स्थानीय सीप, प्रविधि संरक्षण अभावमा कर्णालीले आफ्नो सभ्यता, समुन्नति र स्वत्वको संरक्षणमा ध्यान पु¥याउन सकेन । स्थानीय सम्भावनाको खोजीभन्दा एनजीओमुखी विकासे धारणा हाबी हुँदा आफ्नो समुन्नत खस सभ्यताको महानता र समृद्धि खस्कँदै गयो कर्णालीको ।

    सडक सञ्जालको पहुँचसँगै बहुराष्ट्रिय कम्पनीका उत्पादनको सहज उपलब्धता र आक्रामक प्रचार चुनौती बनेर अगाडि आउँछन् स्थानीय उत्पादन संरक्षण र विस्तारका लागि । भात्तडीमा स्थानीय स्तरमा तरकारी खेती र करेसाबारीको निर्माणले मन प्रफुल्लित हुन्छ । स्थानीय स्तरमा तरकारी उत्पादन सराहनीय कदम हो । धेरै ग्रामीण बस्तीमा यसलाई संस्कारका रूपमा विकास गर्न आवश्यक भए पनि चुनौतीपूर्ण छ ।

    २०७५ फागुन ३० । मन प्रफुल्लित छ आज किनकि हामी आज समाहित हुन्छौं अघिल्लो दिनका सहयात्री सदस्यसँग । हामीलाई सुवास सुनुवार सरको ठट्यौली प्रस्तुति झलझली याद आइरहेछ । यात्रा दौरान सम्भावित बाँधस्थलको खोजीमा रोकिँदै, हेर्दै हामी अगाडि बढिरहेछौं । ट्र्याक मात्र खोलिएको बाटोमा ड्राइभिङ गर्नु चुनौतीपूर्ण हुन्छ । तापनि संयमित भएर स्टेयरिङ सम्हालिरहेछन् ड्राइभर भाइ । सडक किनाराहरूमा पर्खाल निर्माण कार्य चलिरहेछ । सुख्खा र नांगा डाँडाहरू हिमाली भूगोलको झल्को दिइरहेछन् । जुड्डीमा खाना खाएपछि अघिल्लो टोलीसँग भेटेर आत्मीयता साटासाट गर्दै हामी अगाडि बढ्छौं । आजको गन्तव्य पिलुचौर बजार, बाजुरा छ ।

    पिलुचौर बाजुरा

    सुन्दर स्थानीय पिलुचौर बजार । जगन्नाथ गाउँपालिका, बुढीनन्दा नगरपालिका र स्वामीकार्तिका गाउँपालिकाको संगमस्थल रहेछ । व्यापारिक हिसाबले महत्वपूर्ण देखिन्छ यो बजार । बेलुकीको जमघट सुरु हुन्छ । आजको आयोजनास्थल अवलोकन समीक्षा र भोलिको कार्यक्रम तयारी पनि चल्छ । भूगोल र हावापानीसुहाउँदो जडीबुटी खेती प्रणालीको विकास नीतिगत तहबाट योजनाबद्ध हुन नसक्नु हाम्रो दुर्भाग्य हो । यहाँ पनि देखिन्छ यही समस्या । सुवास सुनुवार सर चर्चा गर्नुहुन्छ बाटोभरि भेटिएका प्राकृतिक घ्युकुमारी र जैतुनका बोटहरूको । प्रकृति, भूगोल र मानव स्वभावलाई एकत्रित गरी ठट्यौली मनोरञ्जनको किस्सा तयार गर्न सक्ने अद्भूत कला छ सुवास सरमा । उहाँको रमाइला ठट्टा र संस्मरण बेलुकी जमघटमा मादकता मात्र थप्दैनन् निःसन्देह नयाँ पुस्ताका लागि पुँजी बन्न पुग्छन् । प्राकृतिक स्रोतको अपार भण्डार भएर पनि समयमा उपयोग र उपभोग गर्ने नीति नहुँदाको बिकराल दुष्परिणाम हामीले भोगिरहेछौं । हरियो पानी होइन, डलर बगिरहेछ निरन्तर हाम्रा नदीहरूमा । हामीले जसलाई भण्डार गर्न सकिरहेका छैनौं । सुवास सरको यस्तो भनाइले माहोल गम्भीर बन्छ ।

    जलस्रोत विकासक्रममा आइपर्ने नीतिगत उल्झनको चर्चा हुन्छ । नेपालको पानी जनताको लगानी भन्ने नाराको आक्रामक प्रचारमा अगाडि बढिरहेछ नेपाल सरकार । विभिन्न अन्तरमन्त्रालयगत, अन्तरविभागीय र अर्थ–सामाजिक आयामलाई समन्वयात्मक ढंगबाट सम्बोधन गर्न नसके यो नाराले सार्थकता पाउन गाह्रो पर्ने देखिन्छ भन्ने निष्कर्ष रह्यो हाम्रो बसाइको ।

    कोल्टी सेरोफेरो बाजुरा

    २०७५ चैत १ । हामी दुई समूहमा विभाजित हुन्छौं । हामी तीन जना पुष्कर भण्डारी, निरोज फुयाँल र म बुढीनन्दा नगरपालिका कोल्टी बजारतिर बढ्छौं । प्रा. डा. हरिप्रसाद पण्डित, वरिष्ठ जियोलोजिस्ट सुवास सुनुवार, डा. मोहनप्रसाद आचार्य, सुशान्त विष्ट, धीरज आचार्यलगायतको टिम कर्णाली नदी किनार पछ्याउँदै अगाडि बढ्छ मुगु सिमानासम्म । बाजुरा जिल्लाको एक मात्र एयरपोर्ट छ कोल्टी बजारमा । यसले मुगु र हुम्लाको केही भेगका बासिन्दालाई पनि हवाईयात्रा उपलब्ध गराउँदो रहेछ । सुख्खा पहिरो र नदी कटानको समस्या चुनौती देखिन्छ यहाँ । मुगु कर्णाली आयोजनाका लागि आवश्यक सम्भावित प्राकृतिक स्रोतको खोजीमा छौं हामी आज । स्थानीय पत्रकार सर्पलाल गिरी र बुढीनन्दा एफएमका स्टेसन म्यानेजरसँग पनि भेट हुन्छ । सर्पलाल गिरीको न्यानो हार्दिकताले ऊर्जा थपिन्छ हामीमा । केही क्षणको भलाकुसारीपछि हामी छुटिन्छौं । नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत कृषि विभागको जैतुन विकास केन्द्र चाउरिएर बसेको देखिन्छ कोल्टी बजारको कार्यालयमा । व्यावसायिक जैतुन खेती उत्पादन र बजारीकरणको समन्वयकारी पहलकदमी लिन नसकेको आभास हुन्छ, स्थानीय किसान दाजुभाइसँग भलाकुसारी गर्दा । जंगलभरि लोभलाग्दा जैतुनका बोट भए पनि यसको सदुपयोग नभएको पाउँछौं । खुसीको कुरा बजार आसपासका बस्तीमा ससाना करेसाबारी व्यवस्थित भएको देख्दा मन प्रफुल्लित हुन्छ ।

    बेलुकी बसाइमा मनोरञ्जन अनुभव र अनुभूतिसहित प्रस्तुत भयौं । प्रा.डा. हरिप्रसाद पण्डित, डा. मोहनराज आचार्य र सुवास सुनुवार सरको टिमसँग हुम्ला करिडोर निर्माण कार्यदलसँग भएको सामान्य असमझदारी र अन्त्यमा उहाँहरूले पुर्याउनुभएको हार्दिकतापूर्ण सहयोग उल्लेखनीय रहेको कुरा प्रस्तुत गर्नुहुन्छ सुशान्त विष्ट र धीरज आचार्य । समग्र समीक्षासहित भोलिको कार्यालय फिर्तीको कार्यक्रम सम्झनलायक बनाउने एजेन्डासहित हामी गुटमुटिन्छौं आआफ्ना स्लिपिङ ब्यागमा ।

    लेखक जियोटेक्निकल इन्जिनियर हुन् । उनी एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड ट्रेड टावर थापाथली काठमाडौंमा आबद्ध छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology