काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्री पक्राउ गर्न पाटन उच्च अदालतले आदेश दिएको छ । बैंकिङ कसूर मुद्दामा मन्त्री खत्रीलाई तीन दिनभित्र पक्राउ गरी अदालतमा पेश गर्न प्रहरीलाई आदेश दिएको छ ।
मन्त्री खत्री निर्माण ब्यवसायी पनि हुन् । उनले निर्माण ब्यवसायीको काम गर्दा कृषि विकास बैंकबाट ऋण लिएका थिए । ऋण लिँदा कीर्ते बैंक ग्यारेन्टी पेश गरेको भन्दै कृषि विकास बैंकले मुद्दा दायर गरेको थियो । बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई ३ दिनभित्र अदालतमा पेश गर्न प्रहरीलाई आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मन्त्री खत्री कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्री बहाल रहेको भए ३ दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको हो । त्यस्तै राजुप्रसाद खत्रीलाई मुलुकी फौजदारी संहिताअनुसार समाह्वान जारी गर्न आदेश दिइएको छ ।
मन्त्री खत्रीलाई एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरी बैंकलाई हानी नोक्शानी पु¥याएको आरोप लागेको छ ।
कृषि विकास बैंक मुख्य कार्यालयले दायर गरेको बैंकिङ कसूर मुद्दामा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसकेका छन् भने मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठ फरारको सूचीमा थिए ।