काठमाडौं । साउन शुक्ल पूर्णिमाका दिन आमतागाधारीले जनै फेरेर डोरो बाँध्ने र चूडाकर्म नगरेका सनातन हिन्दू धर्मावलम्बीले नाडीमा डोरो (रक्षाबन्धन) ग्रहण गर्दै छन् ।
आ-आफ्ना यजमानसमक्ष जनै र डोरो लगाइदिन बुधबार ब्राह्मणहरू कपाल मुण्डनसहित एकछाके रहेर जनै मन्त्रणा गर्न तल्लीन रहेका हुन्छन् । ऋषितर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन र गुंपुन्हीका दिनका रूपमा यो दिन उत्सवका साथ मनाइन्छ । जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ।
नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ।
यस पर्वका अवसरमा विभिन्न शैक्षिक संस्था एवं स्थानीय सरकारले सार्वजनिक बिदासमेत दिएका छन्।