बुधबार, अशोज १, २०७६

अक्टोबर समाजवादी क्रान्ति र नयाँ राजनीतिक प्रणाली

  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६



    • रमेश सुनुवार

    आज सन् १९१७ को अक्टोबर २४ मा रुसमा सम्पन्न महान समाजवादी क्रान्तिको शतवार्षिकी मनाउन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ । किनभने त्यो क्रान्तिले सम्पूर्ण उत्पीडित वर्गहरुको लागि मुक्तिको मार्ग प्रशस्त गरेको थियो र सम्पूर्ण मानवजातिको लागि प्रगतिको नयाँ क्षितिज खोलेको थियो ।

    अक्टोबर क्रान्तिले एउटा नयाँ युगको शुरुवात गरेको थियो, जुन धेरै पहिलेदेखि मानवजातिले प्रतीक्षा गर्दै आएको थियो । त्यो क्रान्ति आजसम्म सबैभन्दा उत्कृष्ट मानिएको दर्शन द्वन्द्वात्मक भौतिकवादको मार्गदर्शनमा भएको थियो । त्यसले सम्पूर्ण पुरानो सामाजिक व्यवस्थालाई विस्थापन गरेर एउटा पूर्णतया नयाँ सामाजिक व्यवस्थालाई स्थापित गरेको थियो । त्यो नयाँ सामाजिक व्यवस्था समाजवाद थियो ।

    समाजवाद पूर्णरुपले नयाँ युगको नयाँ सामाजिक व्यवस्था हो । यो युगौंदेखि उत्पीडित वर्गहरुको व्यवस्था हो । जुन बेलादेखि मानव समाज वर्गहरुमा विभाजित भयो, त्यो बेलादेखि श्रमिक वर्गहरु शासित र उत्पीडित हुँदै आएका छन् । समाजवाद यिनै श्रमिक वर्गहरुको व्यवस्था हो । त्यसकारण यसले समाजका आर्थिक, राजनीतिक, सांस्कृतिक र वैचारिक सबै पक्षहरुमा श्रमिक वर्गहरुको अनुकूल हुनेगरी रुपान्तरण गर्दछ । समाजवादमा पुराना आर्थिक, राजनीतिक सांस्कृतिक र वैचारिक प्रणालीलाई पूर्णतया विस्थापित गरिन्छ, जुन शोषक वर्गहरुको हितअनुकूल हुन्छन् र तिनीहरुको स्थानमा नयाँ आर्थिक, राजनीतिक, सांस्कृतिक र वैचारिक प्रणालीलाई स्थापित गरिन्छ, जुन श्रमिक वर्गहरुको हितअनुकूल हुन्छन् ।

    महान अक्टोबर समाजवादी क्रान्तिले यसैको शुरुवात गरेको थियो । त्यसले एउटा यस्तो राजनीतिक प्रणाली निर्माण गर्ने दिशामा कदम चालेको थियो, जसमा श्रमिक वर्गहरु युगौंदेखि चलिआएको शासित अवस्थाबाट मुक्त भएर स्वाधीन बन्दथे । त्यो राजनीतिक प्रणाली वास्तवमा समाजवादी राजनीतिक प्रणाली थियो ।

    अक्टोबर क्रान्तिले शुरुवात गरेको नयाँ राजनीतिक प्रणाली पेरिस कम्युनले स्थापित गरेको राजनीतिक प्रणालीको निरन्तरता थियो । त्यसकारण त्यसको स्वरुप बुझ्नको लागि पेरिस कम्युनको राजनीतिक प्रणालीलाई सिंहावलोकन गर्नु आवश्यक छ ।

    सन् १८७१ म सम्पन्न भएको पेरिस कम्युन श्रमिक वर्गको पहिलो सामाजिक व्यवस्था थियो । त्यसलाई पहिलो समाजवादी क्रान्ति मानिन्छ । त्यसले पूँजीवादी राजनीतिक प्रणाली ध्वस्त पारेर समाजवादी राजनीतिक प्रणाली स्थापित गरेको थियो । यसको लागि त्यसले दुईवटा निर्णायक कदमहरु चालेको थियो । ती कदमहरु थिए– पूँजीवादी राज्ययन्त्रको ध्वंस र सर्वहारा अधिनायकत्वको कार्यान्वयन । वैज्ञानिक समाजवादका संस्थापकहरु कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले पेरिस कम्युनबाट दुईवटा शिक्षाहरु लिएका थिए । एउटा शिक्षा के थियो भने सर्वहारा वर्गले पूँजीवादी राज्ययन्त्रलाई कब्जा गरेर जस्ताको तस्तै प्रयोग गर्नसक्दैन, त्यसलाई ध्वस्त बनाउनु पर्दछ । अर्को शिक्षा के थियो भने सर्वहारा वर्गले आफ्नो सत्ता कायम राख्नको लागि पूँजीवादी वर्गमाथि सर्वहारा अधिनायकत्व लागु गर्नुपर्दछ ।

    पेरिस कम्युनले चालेका अन्य महत्वपूर्ण कदमहरु थिए– स्थायी पदहरुको खारेजी र अधिकारको विकेन्दीकरण । स्थायी पदहरुको खारेजीबाट निर्वाचित निकाय कार्यकारी बन्दथ्यो भने अधिकारको विकेन्दीकरणबाट राजनीतिक कार्य साधारण बन्दथ्यो । पूँजीवादमा जननिर्वाचित निकाय देखावटी मात्र हुन्छ । सम्पूर्ण काम स्थायी निकायहरुले गर्दछन्, जसमा अदालत, प्रशासन, सेना र पुलिस पर्दछन् । तर पेरिस कम्युनले सबै स्थायी निकायहरुलाई खारेज गरेर जननिर्वाचित निकाय बनाएको थियाृे । त्यसबाट जननिर्वाचित निकाय औपचारिक मात्र नभएर कार्यकारी बन्दथ्यो । त्यसैगरी पेरिस कम्युनले अधिकारको विकेन्द्रीकरण गरेर मन्त्री र मजदूरको तलब बराबर बनाएको थियो ।

    पेरिस कम्युनको लक्ष्य राज्यलाई कमजोर बनाएर विलोपको अवस्थामा पु¥याउनु थियो, जसबाट राज्यविहीन समाजको स्थापना हुन्छ । माक्र्सवादको दृष्टिमा राज्य एउटा परजीवी तत्व हो । यो वर्गीय समाजको परिणाम हो । त्यसकारण वर्गहरुको अन्त्यसँगै यसको पनि अन्त्य हुन्छ ।

    पेरिस कम्युनमा नयाँ जनसत्ताको रुपमा कम्युनहरु थिए भने अक्टोबर क्रान्तिमा सोभियतहरु थिए । सोभियतहरु रुसमा सन् १९०५ को क्रान्तिमा स्वतःस्फूर्त रुपले उत्पन्न भएका थिए । तर क्रान्ति असफल भएपछि तिनीहरु हराए । त्यसपछि सन् १९१७ को फेब्रुअरी क्रान्तिमा पुनः उत्पन्न भएका थिए । त्यो क्रान्ति सफल भएको हुँदा तिनीहरु अस्तित्वमा रहिरहे । तिनीहरुकै सहायताबाट अक्टोबर क्रान्ति सम्पन्न भएको थियो ।

    अक्टोबर क्रान्तिको लक्ष्य सोभियतलाई विधायिकी र कार्यकारी दुवै बनाउनु थियो । पूँजीवादमा संसद विधायकी मात्र हुन्छ । त्यसकारण त्यो गफ गर्ने अखडा मात्र हुन्छ । तर सोभियत स्वयं कार्यकारी निकाय हुने हुँदा त्यसले जनताको काम गर्नसक्दथ्यो ।

    अक्टोबर क्रान्तिले प्रत्यक्ष जनसहभागितामूलक जनवादको शुरुवात गरेको थियो । जनवादका तीन चरणहरु छन्– दासव्यवस्थाको जनवाद, पूँजीवादको जनवाद र समाजवादको जनवाद । दास व्यवस्थाको जनवाद प्रत्यक्ष जनवाद थियो तर त्यो सीमित प्रकारको थियो । त्यसमा दासमालिकहरु मात्र सहभागी हुन्थे, जो स्वतन्त्र नागरिक मानिन्थे । पूँजीवादको जनवाद प्रतिनिधिमूलक जनवाद हो, जसमा जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले शासन गर्दछन् । समाजवादको जनवाद प्रत्यक्ष जनहभागितामूलक जनवाद हो । यसमा जनताले आफ्नो अधिकार आफैं प्रयोग गर्दछन् । यो बहुसंख्यक जनताको जनवाद हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology