बुधबार, अशोज १, २०७६

एक हातमा सिन्दुर र अर्कोमा नागरिकता दिने व्यवस्था ठीक छैन : सांसद रावल

  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६



  • काठमाडौं । नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई अंगीकृत नागरिकता कति समयपछि प्रदान गर्ने भन्नेमा सांसदबीच मतैक्य छैन ।

    प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसद झपटबहादुर रावलले विवाहकै समयमा एक हातमा सिन्दूर र अर्को हातमा नागरिकताको प्रमाणपत्र दिने व्यवस्थाले मुलुकको सार्वभौम र स्वाधीनता कमजोर हुने बताए । ‘हाम्रा चेलीले विदेशीसँग विवाह गर्दा तत् देशको नागरिकता प्राप्त गर्न धरै झञ्झट व्यहोर्नुपर्ने, लामो समय पर्खनुपर्ने, अनि हामीले चाहिँ किन विवाहमण्डपमा नै दिने प्रावधान राख्न हतारो भएको हो’, उनले भने, ‘नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई कम्तीमा पनि विवाह भएको १० देखि १५ वर्षपछि मात्र नागरिकता दिने व्यवस्था हुनुपर्छ ।’ छिमेकीको हितलाई हेरेर होइन आफ्ना लागि कानुन बनाउन लागेको हो भन्ने बुझ्नुपर्ने उनले बताए । देश राजनीतिक दलभन्दा ठूलो भएकाले अंगीकृत नागरिकता प्राप्त गर्न विवाह गरेको पाँच–सात वर्ष हुनैपर्ने व्यवस्था गर्नुपर्ने उनले बताए ।

    सांसद बृजेशकुमार गुप्ताले नेपालले लामो समयदेखि अवलम्बन गरेको वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधानलाई निरन्तरता दिनुपर्ने बताए। ‘खाइपाइ आएको तलब घटाउँदा त स्वीकार नगरेको अवस्थामा नागरिकताजस्तो विषयमा तलमाथि गर्दा आउने सक्ने अप्ठेरोलाई सबैले मनन गर्न आवश्यक छ’, उनले भने । समिति सदस्य रामसहायप्रसाद यादवले नेपालमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने कुरा नौलो नभई सदियौंदेखिको व्यवस्था भएको हुँदा के त्यस्तो अप्ठेरो पर्यो र त्यसमा संशोधन आवश्यक प¥यो भनी प्रश्न गरे । ‘राष्ट्र सबैको हो, हाम्रा पुर्खाले पनि नेपालको कानून र संविधान बुझेर निर्णय गरेका हुन्’, उनले भने, ‘नेपाली छोरीले भारतीय नागरिकसँग विवाह गरेको भोलिपल्ट नै त्यहाँ सबै सेवासुविधा प्राप्त गर्न सक्छिन्, राज्यबाट प्रदान गरिने सेवासुविधा प्राप्त गर्न कुनै कठिन नहुने गरी रासन कार्ड, आधार कार्ड र मतदाता कार्डको व्यवस्था गरिएको छ ।’

    सांसद महेश्वरजंग गहतराजले मुलुकको भूराजनीतिक अवस्थाका कारण केही न केही प्रावधान राखेर मात्र वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने व्यवस्था गरिनु उपयुक्त हुने मत राखे । सांसद देवेन्द्रराज कँडेलले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको हुँदा विवाह दर्ता गर्नासाथ नागरिकता प्राप्तिको कुरालाई रोक्न खोजिएमा दुई देशबीचको सम्बन्धमै आउन सक्ने नकारात्मक पक्षलाई हामीले हेक्का गर्न आवश्यक छ भने ।

    सांसद पम्फा भुसालले वैवाहिक अंगीकृत मुलुकको सार्वभौमसँग जोडिएको विषय भएकाले नेपाल भारतबीचको सीमा नियम गरेर अघि नबढेसम्म नागरिकताका सम्बन्धमा उठ्ने प्रश्न नसुल्झने धारणा राखिन् । ‘नेपाल–भारत सीमास्तम्भ भारतीय जनता र त्यहाँका किसानले नभई सीमा सुरक्षा बल एसएसबीले सार्ने काम गर्दै आएको छ’, उनले भनिन्, ‘विदेशी छोरीमध्ये ९९ प्रतिशत भारतबाट विवाह गरेर आउने बुहारीसँग अंगीकृत जोडिएको छ । हामीले कसैलाई हस्तक्षेप गर्नुहुन्न, सीमा नियमन गर्नुपर्छ ।’

    सांसदद्वय मीना पाण्डे र डिला सङ्ग्रौलाले आफूहरु छोरी, बुहारी र आमा हुनाका नाताले नागरिकता समानताका आधारमा प्रदान गरिनुपर्छ भन्ने मान्यता राख्छौं भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology