बुधबार, अशोज १, २०७६

संविधान दिवस : एकातिर दीपावलीको तयारी, अर्कातिर ब्ल्याक आउट गर्ने धुन

  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६



  • काठमाडौं । नेपालको संविधानप्रति असन्तुष्ट पक्षले असोज ३ गतेलाई लक्ष्य गरी आन्दोलन घोषणा गरेको छ । विरोध जनाउनेमा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दल, पहिचानजनित मोर्चा/समिति र दलहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चा/घटक छन् । असोज ३ गतेलाई उपेक्षित, उत्पीडित जाति समुदायले धोखा, घात र विभेद भएको दिनका रुपमा लिएको उनीहरूले जनाएका छन् । सरकारले भने त्यस दिन भव्यतापूर्वक घर–घरमा दीपावली गरी संविधान दिवस मनाउने तयारी गरेको छ ।

    पत्रकार सम्मेलनमा आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम ।

    बहिष्कृत–सीमान्तकृत जनताको मूलभूत मुद्दालाई संविधान संशोधनमार्फत सुनिश्चित नगरेसम्म र विगतमा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, लिम्बुवान, थरुहट, ताम्सालिङ, किरात–खम्बुवानलगायतसँग गरेका सम्झौता कार्यान्वयन नभएसम्म राज्यले गर्न गइरहेको दीपावली नगर्न/नगराउन उनीहरूले आह्वान गरेका छन् ।

    उनीहरूले बुधबार संयुक्त रुपमा विरोधका कार्यक्रम घोषणा गरेका थिए । भदौ २५ देखि ३० गतेसम्म संघ, प्रदेश, जिल्ला र स्थानीय तहमा सरोकारवालासँग चरणबद्ध छलफलसहित बैठक, गोष्ठी र प्रचार, असोज १ मा संविधानको अन्तरर्वस्तुबारे विचार गोष्ठी गर्ने, ३ गते दिउँसो ३ बजे आआफ्नो पहिचानसहितको ब्यानर, प्लेकार्डसहित विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । असोज ३ गते साँझ ७ देखि ७ः३० सम्म देशभर ब्ल्याक आउट गर्ने, विदेशस्थित नेपाली दूतावासका असोज ३ सँग सम्बन्धित कार्यक्रममा सहभागी नहुने उनीहरूले जनाएका छन् ।

    ‘२०६२/६३ को जनआन्दोलन, दश वर्षे जनयुद्ध, आदिवासी जनजाति आन्दोलन, मधेस विद्रोह, दलित/शिल्पी, मुस्लिम, महिला आन्दोलन, पहिचान र अधिकार प्राप्तिका लागि विभिन्न पहिचानजनित आन्दोलनको जगमा संविधानसभाको गठन भएको हो’, संयुक्ति प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘तर, बहिष्कृत–सीमान्तकृत जनतासँग विगतमा गरिएका सम्झौता र जारी आन्दोलनको भावनाविपरित दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी हुँदै गर्दा उक्त संविधानको विरोधमा देशका विभिन्न भागहरूमा आन्दोलन चलिरहेको यहाँहरूलाई अवगत नै छ । त्यति मात्र हैन संविधान जारी भएकै दिन संविधानको विरोध गर्दा राज्यद्वारा पर्साको विरगञ्जमा शत्रुधन पटेलको निर्ममतापूर्वक हत्या गरिएको थियो । राज्य आतङ्क मच्चाउँदै कैयन् थारु नेता अभियन्ताहरूलाई धरपडक र विस्थापन गरिएको स्मरण गराउँदछौं ।’

    परिवर्तनको मुद्दालाई कुल्चेर संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताको मर्म र भावनाविपरीत संविधान जारी भएको विज्ञप्तिमा उल्लेख छ । ‘विभेदकारी संविधान जारी भएको ४ वर्ष बितिसक्दा पनि बहिष्कृत–सीमान्तकृत समुदायको पक्षमा कुनै संशोधन र सुधार भएको छैन’, विज्ञप्तिमा लेखिएको छ, ‘बरु उल्टै संविधानको कार्यान्वयनको नाममा जनविरोधी ऐन, कानून बनाएर बहिष्कृत–सीमान्तकृत जनताको भावनालाई उपेक्षा गरिएको छ । एकातिर विभेदकारी संविधानप्रति जनताका असन्तुष्टि दिनानुदिन बढेर गएको छ भने अर्कोतिर बहिष्कृत–सीमान्तकृत जनताको मुद्दा सम्बोधन नगरिए विभिन्न संघर्षहरूबाट प्राप्त उपलब्धि समेत गुम्ने खतरा झन बढेर गएको छ । परिवर्तनबाट स्थापित मुद्दाहरूलाई रक्षा गर्ने र थप उपलब्धिका लागि संविधान संशोधनमार्फत संघर्षरत रहने हाम्रो आन्दोलनको ठहर हो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology