बिहिबार, मंसिर २६, २०७६

मदन खरेलको बदमासीले वायुसेवा निगम धरापमा, कदम–कदममा भ्रष्टाचार !

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ६, २०७६



  • ‘उहाँले सबै शाखा प्रमुखलाई खाली कागजमा सही गराउनुभयो र आफैं कार्यसम्पादन मूल्यांकन गर्नुभयो’, निगमका एक कर्मचारी भन्छन्, ‘खाली कागजमा सही गर्न नमान्ने शाखा प्रमुखलाई कारबाहीको चेतावनी दिनुभएको थियो ।’

    काठमाडौं । न्यारो बडी विमान घोटालामा मुछिएका नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले काण्डै काण्ड मच्चाउन थालेका छन् । न्यारो बडीमा १ अर्ब २० करोड रुपैयाँ भ्रष्टाचारको अभियोग लागेका खरेलले पदको दुरुपयोग गरी एकपछि अर्काे आर्थिक अनिमितता गरेको खुलेको छ ।

    विभागीय मन्त्रीलाई थाहा नदिई केही समयअघि आर्थिक लाभ लिएर उनले निगमका २३ कर्मचारीलाई विदेश शाखामा सरुवा गर्न लागेका थिए । उक्त शाखामा सरुवाअघि कर्मचारीको कार्यसम्पादन मूल्यांकन गरिन्छ । तर, खरेल आफैंले कर्मचारीको मूल्यांकन गरी सरुवाको तयारी गरेको एक कर्मचारी बताउँछन् । निगमको नियमावलीअनुसार भने शाखा प्र्रमुखले कर्मचारीको मूल्यांकन गर्ने व्यवस्था छ । खरेलले कुनै पनि शाखा प्रमुखलाई आफू मातहतका कर्मचारीको मूल्यांकन गर्न नदिएको ती कर्मचारीको भनाइ छ ।

    ‘उहाँले सबै शाखा प्रमुखलाई खाली कागजमा सही गराउनुभयो र आफैं कार्यसम्पादन मूल्यांकन गर्नुभयो’, निगमका एक कर्मचारी भन्छन्, ‘खाली कागजमा सही गर्न नमान्ने शाखा प्रमुखलाई कारबाहीको चेतावनी दिनुभएको थियो ।’

    शाखा प्रमुखसँग खाली कागजमा सही गराएपछि खरेलले आफूखुसी मूल्यांकन गरेका थिए । ‘नजराना’ चढाएका र आफूनिकट कर्मचारीको कार्यसम्पादनमा ५ नम्बर दिएका छन् । अन्य राम्रो कार्यसम्पादन भएकालाई २ नम्बर दिएका छन् । कार्यसम्पादनका आधारमा जापान, हङकङ, थाइल्यान्डसहित विदेशका सात शाखामा कर्मचारी सरुवा गर्ने प्रावधान छ ।

    निगमभित्र प्रशासन, प्राविधिक र लेखा शाखामा कार्यरत सबै कर्मचारीको मूल्यांकन उनले यसरी नै गरेका छन् । उनले गैरकानुनी काम गरेपछि कतिपय कर्मचारीले विभागीय मन्त्री योगेश भट्टराईलाई जानकारी गराएको स्रोत बताउँछ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराईले छानबिन गर्ने आश्वासन दिएको ती कर्मचारीको भनाइ छ ।

    खरेल अध्यक्ष नियुक्त हुँदा निगमसँग अन्तर्राष्ट्रिय उडान भर्न दुई विमान थिए । केही समयपछि थप दुई विमान आए । अन्तर्राष्ट्रिय उडान भर्ने विमानको संख्या चार पुगेको छ । तापनि, खरेलले उडानका गन्तव्य निश्चित गर्न सकेका छैनन् । जसका कारण निगम दैनिक घाटामा गइरहेको छ । उनले गन्तव्य खोज्नुभन्दा तय भएकामा पत्र पठाएर उडान रोक्ने प्रयास गरेका छन् ।

    केही समयअघि जापानको नारिता र हानिदा उडानको तयारी थियो । उनले नारितामा जसरी पनि नेपाली विमान उडाउने ‘गफ’समेत दिइरहेका छन् । तर, ८ फेब्रुअरीमा खरेलकै निर्देशनमा निगमले नारिता उडान गर्ने योजना रद्द भएको पत्र पठाएको तथ्य खुलेको छ । जापानको सिभिल एभिएसन ब्युरोलाई पठाएको पत्रमा नारिता र हानिदामा उडान योजना नरहेको उल्लेख छ । खरेलले नै नारिता र हानिदा उडान रद्द गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान तत्काल उडाउन खरेललाई निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री र विभागीय मन्त्रीलाई गुमराहमा राखेर खरेलले जापानको सिभिल एभिएसनलाई पत्र पठाएको तथ्य खुलेको छ । ‘यो विषयमा मलाई थाहा छैन’, मन्त्री भट्टराईले भने, ‘यस्तो गैरजिम्मेवार पत्र निगमबाट गएको हो भने म कारबाही गर्न तयार छु ।’

    तर, निगमको पत्रमा लेखिएको छ, ‘जापानको नारिता र हानिदा विमानस्थलमा चार्टर तथा नियमित उडानको कुनै योजना छैन ।’ खरेलले लामो दूरीका विमानलाई छोटो र बढी प्रतिस्पर्धा हुने स्थानमा उडान भरिरहेका छन्, जसबाट निगमलाई घाटा भइरहेको छ ।

    उनी अध्यक्ष हुँदा आन्तरिक उडानतर्फ आठ विमान थिए । ती अधिकांश ग्राउन्डेड छन् । ग्राउन्डेड विमान मर्मतका लागि करोडौ रकम खर्च भएको तथ्य निगममा देखिन्छ । तापनि विमानले उडान भरेका छैनन् । मर्मतका नाममा कमाई खाने भाँडो बनाएको चर्चा निगममा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology