काठमाडौं । सरकारले बढी शुल्क लिने मेडिकल कलेजहरुलाई कारवाहीको २४ घण्टे अल्टिमेटम दिएपछि सञ्चालकहरु शुल्क समायोजनका लागि तयार भएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको बैठकले शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई बुधवारदेखि कारवाही थाल्ने निर्णय गरेको थियो ।
गृहमन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको बैठकले कारवाही थाल्ने चेतावनी दिएपछि संचालकहरु शुल्क समायोजनका लागि तयार भएका हुन् ।
सरकारले २४ घण्टे अल्टिमेटम दिएलगतै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कलेज संचालकलाई जानकारी दिएका थिए । मेडिकल कलेज संचालकहरुले आन्तरिक छलफल गरी आज मंगलबार साँझसम्म शुल्क समायोजनको लिखित प्रतिबद्धता जनाउने बताएका छन् । मन्त्री पोखरेलले अल्टिमेटम सकिएपछि पनि शुल्क फिर्ता नभएको भन्दै सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिन मेडिकल कलेज संचालकहरुलाई मन्त्रालय बोलाएका थिए।
सरकारले एमबिबिएस, बिपीएच, नर्सिङ, बिडिएस, बिएमएलटी, बिएमआईटी लगायतका आठ वटा संकायको सरकारले शुल्क निर्धारण गरेको छ। तर, कलेजले आठ वटा संकायका ३२ ब्याजका विद्यार्थीबाट अतिरिक्त शुल्क लिँदै आएका छन्।