बिहिबार, मंसिर २६, २०७६

किर्ते हस्ताक्षर गरी बैंकबाट २० लाख झिकियो, ६ पक्राउ, कर्मचारी पनि शंकाको घेरामा

  • प्रकाशित मिति : बुधबार, मंसिर ११, २०७६



  • काठमाडौं । खातावालको किर्ते हस्ताक्षर गरी नयाँ चेकबुक बनाएर बैंकबाट करिब २० लाख रुपैयाँ झिकेको घटनामा ६ अभियुक्त पक्राउ परेका छन् । खातावालले एसएसएम सेवा प्रयोग गरेकाले पैसा मात्रै जोगिएन गिरोहसमेत पक्राउ पको हो ।

    आइतबारको घटना महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार सार्वजनिक गरेको छ। उक्त घटनामा संलग्न ६ अभियुक्तलाई पक्राउ गरी उनीहरूबाट रु १८ लाख ५० हजार बरामद गरिएको प्रहरीले जनाएको छ । केही पैसा उनीहरुले बाँडेको फेला परेको छ ।

    यसरी भएको थियो घटना

    गोपालमान राजवाहकका नाममा चेकबुक हराएको भन्दै आइतबार दिउँसो करिब २ बजे जनता बैंक ग्वार्को शाखामा नयाँ चेकबुक बनाउन निवेदन आयो । बैंकका कर्मचारीले २ः३० बजे सजिलै चेकबुक बनाएर पठाइदिए । त्यहीँ शाखाबाट पैसा निकाल्दा शंका हुने देखेर उक्त गिरोहले दिउँसो ३ः३० बजे बानेश्वरस्थित शाखाबाट चेकमार्फत रु ९ लाख ९९ हजार पैसा निकाल्यो । दिउँसोको काउन्टर बन्द भएपछि साँझ दुईवटा चेकमार्फत उनीहरुले राजवाहककै खातबाट पाँच÷पाँच लाख नगद निकाले ।

    यसरी क्रमैसँग पैसा निकालेको एसएमएस आउँदा राजवाहक आश्चर्यचकित भए। उनले कसैलाई चेक दिएका थिएनन् । एटीएम कार्ड पनि दिएका थिएनन् । त्यसो भए कसरी पैसा निस्कियो ? उक्त एसएसएससहित राजवाहक महानगरीय प्रहरी पसिरको सम्पर्कमा पुगेका थिए ।

    तत्कालै प्रहरी हाइअलट भयो । उनीहरुको निगरानी सुरु भयो । सबै बैंकलाई सर्कुलर गरेर प्रहरीले त्यस्ता व्यक्ति आउनेबित्तिकै खबर गर्न भनियो । राजवाहकको खातामा ५ लाख बाँकी रहेको थाहा पाएको गिरोहलाई भोलिपल्ट सोमबार त्यसैगरी तीनवटा चेक बनाएर बैंकबाट पैसा निकाल्ने क्रममा न्युरोडबाट पक्राउ गरिएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल घर भई कालीमाटी बस्दै आएका १९ वर्षका सुवास श्रेष्ठ, सोही ठाउँ बस्ने १९ वर्षका कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बागलुङ गलकोटका २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौं बस्ने ३० वर्षका गोविन्द घिमिरे छन् । उनीहरुलाई बैंकिङ कसुरमा अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

    उनीहरुको साथबाट प्रहरीले नागरिकताको प्रतिलिपि २९० थान, सयौँ व्यक्तिको बैंकमा रहेको रकम उल्लेख भएको २६ वटा हाजिरी खाता खोल्न फोटो टाँसेको फारम ३०० वटा, विभिन्न व्यक्तिको बैंक स्टेटमेन्ट १९५ वटा, विभिन्न व्यक्तिको नाममा जनता बैंकको ५७ वटा चेकबुक बरामद गरेको छ । यस्तै ज्योति, एभरेस्ट, माछापुच्छ्रे, मुक्तिनाथ, एनआईसी एसिया बैंकका दर्जनौं चेकबुक पनि फेला परेको छ । उनीहरुसँग ८२५ जनाको फोटो, एनआईसी एसियाका ८२ वटा र अन्य बैंकका सात गरी ८९ वटा एक्टिभ भएको एटीएम कार्ड फेला परेको छ । रकम उल्लेख गरेर साट्न ठिक्क पारिएको अवस्थाको ३२९ वटा चेक पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

    परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले उनीहरुले खातावालाको सबै विवरण पहिचान गरेर नक्कली हस्ताक्षर दुरुस्त पारी रकम निकाल्ने गरेको पाइएको बताए। ‘सामान्य दुई-तीन लाख पैसा निकाल्दा नै बैंकले खातावालालाई फोन गर्छ तर यहाँ झन्डै १० लाख निकाल्दा पनि जानकारी नहुनुले कर्मचारीको मिलेमतोको आशंकामा अनुसन्धान जारी छ’, उनले भने । उनका अनुसार दिनभरि गतिविधि गर्ने र रातिमा उनीहरुले नक्कली हस्ताक्षर बनाउन सिक्ने गरेका थिए ।

    हस्ताक्षर बनाउन प्रयोग भएका दर्जनौँ हाजिरी खातासमेत बरामद भएको छ । केही कागजातको अनुसन्धान भइरहेको र अझै दुई बोरा कागज हेर्न बाँकी नै रहेको उनले बताए । अहिले एक व्यक्तिको मात्रै पैसा लगेको पाइएकाले उनीहरुले अन्य धेरै व्यक्तिको रकम लगेको हुनसक्ने आशंका प्रहरीको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology