काठमाडौं । गुल्मीबाट बागलुङको निसीखोला जाँदै गरेको ग.१ज ५२१९ नम्बरको जिप भीमगिठेमा दुर्घटना भएको घटनाप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते हुनुका साथै एक व्यक्ति खोलाले बगाएर हराएको जनाइएको छ ।
तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन सभापति देउवाले सरकारको ध्यानाकर्षण गराएका छन् । गत मंसिर ११ गते अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु.२ख २१४८ नम्बरको बस मंसिर ११ गते नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो । त्यसको पीडा रहेकै बेला पुनः बागलुङमा यति ठूलो संख्यामा मृत्यु हुने गरी भएको घटनाले सिंगो मुलुकलाई शोकमग्न बनाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्तिमा जनाएका छन् ।
यो समाचार हेर्नुहोला बागलुङको भिमगिठेमा जीप खस्यो, कुलपुजामा हिडेका १४ जनाको मृत्यु